कैलाली । धनगढी उपमहानगरपालिका २ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहोर बिक्री गरेर ४५ लाख ५५ हजार आम्दानी गरेको छ । केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा २५ लाख ५५ हजार र चालु आवको आठ महिनामा २० लाख रुपैयाँ आम्दानी गरेको हो ।
वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीका अनुसार उपमहानगरपालिकाले आव २०८०/८१ को साउनदेखि सञ्चालनमा ल्याएको केन्द्रलाई चालु आवदेखि निजी कम्पनीमार्फत ठेक्का लगाएर फोहोर बिक्री गरिरहेको छ ।
धनगढीको नन्दादेवी सेवा केन्द्रलाई २०८१ देखि २०८६/८७ सम्म पाँच वर्षका लागि ठेक्का दिइएको छ । ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि गर्ने गरी सम्झौता गरेको छ ।
उपमहानगरपालिकाका १९ वडामध्ये हाल ९ वटा वडाबाट दैनिक २१ टन फोहोर संकलन गरेर केन्द्रले फोहोर वर्गीकरण गरी बिक्री गर्ने गरेको छ । बाँकी १० वटा वडामा सरसफाइ अभियानमार्फत व्यापारिक केन्द्रमा डस्टबिन राखेर फोहोर संकलन गरिरहेको छ ।
प्लास्टिक, फलाम, टिन, आल्मुनियम, रबर, जुत्ता, कागज सबै अलग-अलग वर्गीकरण गरेर बिक्री गर्ने गरिएको उपमहानगरपालिकाले जनाएको छ । कुरकुरे र चाउचाउका प्लास्टिकजन्य नकुहिने फोहोर व्यवस्थापनमा भने समस्या छ ।
यस्तो फोहोरलाई वडाको सिफारिसमा खाली जमिनमा व्यवस्थापन गरिँदै आएको अवस्थीले बताए । ‘संकलित फोहोरमध्ये ७० प्रतिशत प्रयोगमा ल्याउने गरिएको छ, संकलित फोहोरमध्ये कुहिने फोहोरबाट बायोग्यास निकाल्ने गरिएको छ,’ उनले भने ।
धनगढी बजार र अन्य वडाका बस्तीबाट २१ वटा ट्रयाक्टरमार्फत कुहिने ठोस र नहुकिने फोहोर संकलन गरी केन्द्रमा लगेर कागज, प्लास्टिक, धातु, कपडा, सिसा, काठ, दाउरा, विभिन्न किसिमका तार, रेडियो, टिभी, मोबाइललगायत विद्युतीय सामग्री र रबरलाई छुट्याएर राख्ने गरिएको छ ।
वर्गीकरण केन्द्रमा कागज, प्लास्टिकलगायत फोहोर टुक्र्याउन र दबाउन तीनवटा मेसिन राखिएका छन् । उपमहानगरपालिकाले १५ वर्षका लागि वार्षिक एक लाख २५ हजारका दरले भाडा तिर्नेगरी दुई बिघा जमिन भाडामा लिएर ३० लाख रुपैयाँ लगानीमा केन्द्र सञ्चालनमा ल्याएको हो ।
बजारबाट संकलित फोहोरलाई धनगढी, विराटनगर, भैरहवा र दाङलगायत बजार र केही स्थानीय बजारमा बिक्री गर्दै आएको केन्द्र सञ्चालक हस्तबहादुर शाहले बताए । सूक्ष्म वर्गीकरणमा अहिले १४० जनाले रोजगारी पाएका छन् । केन्द्रको अवलोकनका लागि देशभरका स्थानीय तहका जनप्रतिनिधि आउने गरेका छन् ।