काठमाडौं । अध्यागमन विभागले मंगलबार (फागुन १) देखि दैनिक १२ घन्टे सेवा दिने भएको छ । विभागले फागुन १ देखि सेवा अवधिको समय बढाएको हो ।
विभागले अबदेखि बिहान ८ देखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिने जनाएको छ । यसअघि कार्यालय समय बिहान १० देखि साँझ ५ बजे सम्ममात्र थियो । सार्वजनिक बिदाको दिन पनि बिदा हुन्थ्यो । अब सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला हुने भएको छ ।
स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहज र छिटो सेवा प्रवाह गर्न समयावधि लम्ब्याइएको विभागले जनाएको छ । ई-भिसामा गइसकेपछि देशविदेशबाट अप्लाई भइरहेको हुने भएकाले १२ घन्टे सेवा सुरु गर्नुपरेको हो ।
सहज र छिटो भिसा जारी भयो भने पर्यटक आगमन पनि बढ्ने विश्वासको विश्वास छ । नेपाल आगमनपूर्व ई-भिसाका लागि आवेदन र स्वीकृति, पर्यटक भिसा थप, गैरपर्यटक भिसाबाट पर्यटक भिसामा रुपान्तरण, गैरपर्यटक भिसा जारी र ट्रेकिङ पर्मिटलगायतका काम अब छिटोछरितो हुनेछ ।