म्याग्दी । रघुगंगा गाउँपालिका–२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित बृहत् पिप्ले-भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
आर्थिक वर्ष २०७३/७४ देखि संघीय सरकारको वार्षिक कार्यक्रम मा समावेश हुन थालेको यस योजनालाई खानेपानी मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालु आव २०८१/८२ मा बहुवर्षीय ठेक्का लगाउन स्रोत सहमति दिएपछि कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।
सांसद खमबहादुर गर्बुजा (खम्बिर)ले चालु आवमा ५० लाख बजेट विनियोजन भएको बृहत् पिप्ले-भगवती खानेपानी योजनाका लागि अर्थ मन्त्रालयले १० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाउन सहमति दिएको जानकारी दिए ।
‘म्याग्दीको बहुप्रतिक्षित पिप्ले-भगवती खानेपानी आयोजनालाई अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्का आह्वानको तयारी गरेको छ,’ उनले भने, ‘गत वर्ष ३७ करोडको स्रोत सुनिश्चतता भएपछि पिप्ले-भगवतीसँगै वार्षिक कार्यक्रममा समावेश हुँदै आएको बेनी नगरपालिकाको चार र रघुगंगा गाउँपालिकाको दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुने बृहत् घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता भई काम सुरु भएको छ ।’
पछिल्लोपटक सन् २०२२ मा भएको सर्वेक्षणअनुसार ३७ करोड ३७ लाख लागत अनुमान गरिएको पिप्ले-भगवती खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत र बहुवर्षीय ठेक्का आह्वान गर्न अर्थ मन्त्रालयले स्रोत सहमति नदिँदा कार्यान्वयन हुनसकेको थिएन ।
चारवटा प्याकेजमा विभाजन गरेर यस वर्ष दश करोड बजेट बराबरको काम गर्न ठेक्का आह्वानका लागि प्रक्रिया अघि बढाएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुनम थापाले बताए । बाँकी तीनवटा प्याकेजको ठेक्का लगाउन आगामी वर्ष बजेट व्यवस्थापनका लागि जनप्रतिनिधि र खानेपानी विभागमार्फत प्रस्ताव गरिने उनले बताए ।
रघुगंगा गाउँपालिका-७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्याङकीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइप लाइन रहने प्रस्ताव गरिएको छ ।
योजनामार्फत दुई हजार चार सय १६ घरपरिवार लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताए ।
संघीय सरकारको ९० र उपभोक्ताको दश प्रतिशत लागत साझेदारीमा आयोजना निर्माण हुन लागेको हो । उपभोक्ताको तर्फबाट सहभागिता जनाउन आवश्यक पर्ने १० लाख बजेटको व्यवस्था गरेर खातामा जम्मा गरिसकेको रघुगंगा गाउँपालिका-२ भगवतीका अध्यक्ष अमृत भण्डारीले बताए ।
पिप्ले र भगवती म्याग्दीको बढी जनघनत्व भएको बस्ती हुन् । पुराना खानेपानीको मुहान सुक्दै जाने र उपभोक्ताको संख्या बढ्दा खानेपानीको समस्या छ । चिमखोलाबाट ल्याएको पानीलाई अहिले भएका ट्यांकी र पाइप लाइनमार्फत घरघरका धारामा वितरणको व्यवस्था मिलाइने भण्डारीले बताए ।