• Menu

पोखरामा फेवा महोत्सवको तयारी

नेपाल प्रफिट

२०८१ फागुन ९, शुक्रबार १६:५८

पोखरामा फेवा महोत्सवको तयारी

कास्की । पर्यटकीय राजधानी पोखरामा नयाँ वर्षको स्वागतार्थ २०औँ संस्करणको फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि २०८२ वैशाख १ गतेसम्म पोखराको लेकसाइडमा उक्त महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवका संयोजक एवं होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरी काम अगाडि बढाइएको बताए ।

नेपाली कला तथा संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको उल्लेख गर्दै उनले यसले स्वदेशी एवं विदेशी पर्यटलाई पोखरामा आकर्षित गर्न तथा फेवा तालको संरक्षणमासमेत मद्दत पुग्ने बताए ।

अध्यक्ष सुवेदीका अनुसार ड्यामसाइडदेखि गैराको चौतारासम्मको क्षेत्रमा सडकमै महोत्सव आयोजना हुनेछ । विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने कार्यक्रम, पर्यटकीय कक्ष र खेलकुदका कार्यक्रमसमेत महोत्सवमा समेटिने छन् । महोत्सवका आगन्तुक र पोखरा आउने पाहुनालाई संघले प्रदान गर्ने विशेष छुटको घोषणा छिट्टै गरिने संघले जनाएको छ ।

निकट भविष्यमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाटसमेत अन्य मुलुकलाई जोड्ने गरी उडानको तयारी भइरहेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले पोखराको पर्यटनप्रति आफूहरु आशावादी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्