काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई संगठित अपराधको मुद्दा नचलाउने चितवनका सरकारी वकिल कार्यालय प्रमुखको राति नै सरुवा भएको छ । प्रमाण नपुग्ने भन्दै मंगलबार सहकारी ठगी मुद्दामात्र दायर गरेका जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई हिजै साँझ चितवनबाट सरुवा गरेर काठमाडौँ तानिएको हो ।
चितवन आएको १५ महिना निबित्दै उनको अचानक सरुवा भएको छ । उनी २०८० मंसिरमा चितवन सरुवा भएका थिए । सरकारी वकिलहरूको सरुवा सामान्यत: हरेक दुई वर्षमा हुने गर्छ ।
स्रोतका अनुसार रविमाथि संगठित अपराधमा समेत मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयबाट न्यायधिवक्ता लुइँटेलमाथि चर्को दबाब थियो । तर, सरकारले भनेजस्तो गरी संगठित अपराधमा मुद्दा नचलाएका कारण उनको सरुवा भएको स्रोतले जनाएको छ ।
लुइँटेलले सहकारीको रकम गोर्खा मिडियामा लैजान रविको संलग्नता नदेखिएको भन्दै संगठित अपराधको मुद्दा नचलाउने निर्णय गरेका थिए । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय चितवनले ३२ व्यक्ति र ६ संस्थाविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ ।
गोर्खा मिडियाका सञ्चालकसमेत रहेका सहकारीका अध्यक्ष जीबी राई एवं छविलाल जोशी र कुमार रम्तेलविरुद्ध भने सहकारी ठगीसँगै संगठित अपराधको पनि मुद्दा लागेको छ । रविलाई भने सरकारी वकिल कार्यालयले सहकारी ठगीको मात्रै मुद्दा दायर गरेको छ ।
लामिछाने कार्यालय समयअगावै अदालतमा उपस्थित भइसकेका छन् ।