काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवं विश्वासनीय बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले त्यस्तो निर्देशन दिएका हुन् ।
वर्तमान अवस्थामा सेवाप्रवाहलाई चुस्तदुरुस्त एवं छिटोछरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको र अब तदर्थवादी ढंगले चल्ने स्थिति नरहेको उनले स्पष्ट पारे । सेवा प्रवाहलाई भरपर्दो र अविछिन्न बनाउन अत्याधुनिक प्रविधिको प्रयोगलाई बढाउँदै जानुपर्ने, सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने, साथै प्रविधि सञ्चालनका लागि आवश्यक योग्य जनशक्ति र प्राविधिक सक्षमता विकसित गर्दै जान उनले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए । हरेक निकाय सूचना प्रणालीमा सक्षम भएमात्र गुणस्तरीय सेवा प्रवाह हुन सक्ने अर्थमन्त्रीको भनाइ छ ।
कार्यक्रममा सहभागी अधिकारीहरूले आ-आफ्नो निकायमा सञ्चालनमा रहेका सूचना प्रविधि सम्बन्धी प्रणालीहरूको आवधिक रुपमा सेक्युरिटी अडिट गर्ने गरिएको र सुरक्षाका दृष्टिले सबल रहेको तथा प्रणालीको ब्याकअप क्षमता वृद्धि गर्न थप लगानी योजना प्रस्तुत गरेका छन् ।
सूचनाप्रविधिको प्रयोग बढाउँदै जाँदा दक्ष प्राविधिक जनशक्तिको माग बढ्दै जाने तर त्यस्ता जनशक्तिलाई संस्थाभित्र टिकाई राख्न न्यून सेवासुविधाका कारण चूनौतीपूर्ण रहेको उनीहरुले बताए । यस्ता समस्या सम्बोधन गर्न सरकारले उपयुक्त नीतिगत निर्णय लिने पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पारेका छन् ।
बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नागरिक लगानी कोष, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नागरिक लगानी कोष, नेपाल स्टक एक्सचेन्ज, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकलगायतका अधिकारीको सहभागिता थियो ।