काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफी काठमाडौं आइपुगेकी छन् । राजकुमारी सोफी बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् भने राजकुमार एडवार्ड केही समयपछि काठमाडौं पुग्नेछन् ।
विमानस्थलबाट राजकुमारी सोफी लैनचौरस्थित ब्रिटिश दूतावास गएकी छन् । काठमाडौं आएपछि उनीहरू दिउँसो पौने ४ बजे शीतल निवास जानेछन्, उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्नेछन् । भेटपछि पुन: उनीहरू लैनचौर फर्कने कार्यक्रम रहेको छ ।
उच्च सुरक्षा स्रोतका अनुसार उनीहरू निजी भ्रमणका क्रममा नेपाल आएका हुन् । यसअवधिमा उनीहरूलाई नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् ।
गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा राजकुमार एडवार्ड र उनको टोलीले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरको एसओएस बालग्राम लगायतका स्थानहरू भ्रमण गर्नेछन् । यसका साथै उनीहरूले पोखरा समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
बेलायती राजकुमार दम्पती ६ दिनसम्म नेपाल भ्रमणमा रहनेछन् र माघ २७ गते साँझ स्वदेश फर्कनेछन् । उनीहरूको यात्रा नेपाल-ब्रिटेन द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।