गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार सुशासन, समुन्नति र सामाजिक न्यायलाई आत्मसात् गर्दै दिगो विकासको लक्ष्यमा अघि बढेको बताएका छन् ।
प्रदेश स्थापनाको आठौँ वर्ष प्रवेशका अवसरमा आज प्रदेशवासीमा शुभकामना सन्देश दिँदै उनले प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुनबमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात् गरी नागरिकसामु लोकतन्त्र र सुशासनलाई स्थापित गरेको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको बताएका छन् ।
गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को संकल्प पूरा गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ । संघीयताको मर्मअनुसार समावेशी, दिगो र समान विकासलाई अघि बढाउँदै नागरिकलाई चुस्त सेवा प्रवाह, सुशासनको अनुभूति दिलाउन सामूहिक प्रयास जरुरी रहेको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।
‘भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र उद्यमशीलताको प्रवर्धन गर्दै दिगो विकासका लक्ष्य भेट्टाउने दिशामा सरकारले आफ्ना नीति, कार्यक्रम सञ्चालन गरिरहेको छ,’ मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।