म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताएका छन् । म्याग्दीको वेनी हरियाली चोकबाट तातोपानी कुण्डसम्म बिहानी पैदल यात्रा गरेका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिएका हुन् ।
प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथलगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी उनले गराए ।
उनका अनुसार यो योजना बहुवर्षीय टेन्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको छ । आफू केही वर्षअघि केही मन्त्रीहरुसहित तातोपानी कुण्डको निरीक्षणमा आएको र त्यतिबेला यसको निकै प्रचार पनि भएको उनले उल्लेख गरे ।
यहाँको समस्याको बारेमा पनि प्रारम्भिक जानकारी आफूलाई भएको प्रचण्डले बताए । अहिले दोस्रोपटक आउँदा प्राविधिक संरचनामा केही सुधार आएको र तातोपानीका मुहानहरु अरु पनि भेटिएको जानकारी पाउँदा खुसी लागेको उनले बताए ।
बेनी-ढोरपाटन सडक निर्माण पनि आफूहरुको प्राथमिकतामा रहेको र यसको काम अघि बढिसकेको प्रचण्डले बताए । ‘म्याग्दी जिल्लाको समग्र विकासमा हाम्रो ध्यान गएको छ, खोलाको सतह अझ गहिरिन नपाओस् भनेर स्थानीयले राखेको चेकड्याम निर्माणको प्रस्तावप्रति हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछौं,’ उनले भने । भ्रमणका क्रममा उनले स्थानीयसँग अन्तर्क्रिया पनि गरेका छन् ।