काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति, प्रकृति र सम्पदाहरू खुला संग्रहालय भएको बताएका छन् । सोमबार प्रा.डा. सोमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हुनुमान ढनेका स्मारिका नामक पुस्तकको विमोचन गर्दै उक्त कुरा बताएका हुन् ।
पाण्डेले भने, ‘हामी जीवित सम्पदाहरूले धनी छौं । विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलयका रूपमा रहेका छन् । यसलाई चलायमान् बनाउन आवश्यक छ ।’ पाण्डेले सम्पदाहरू ठूलो पूँजीको रूपमा रहेको उल्लेख गर्दै जल,जंगल र जडिबुटी जस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता औँल्याए ।
उनले प्राकृतिक सम्पदाहरू जोगाउनका लागि प्राज्ञिक र एकेडेमीक रूपमा बहस र छलफल हुनुपर्नेमा जोड दिए । उनले सम्पदाको अध्ययन,अन्वेषणहुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुने गरि निष्कर्षमा पुग्नु पर्ने बताए ।
पाण्डेले हनुमानढोका दरबार क्षेत्रको मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेको भन्दै प्रशंसा समेत गरे ।