• Menu

ज्ञानकी देवी सरस्वतीको पूजा आराधना गरी श्री पञ्चमी पर्व मनाइँदै, विद्यालयहरुमा अक्षरारम्भ

नेपाल प्रफिट

२०८१ माघ २१, १०:२४

ज्ञानकी देवी सरस्वतीको पूजा आराधना गरी श्री पञ्चमी पर्व मनाइँदै, विद्यालयहरुमा अक्षरारम्भ

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७:५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शभसाइतमा विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गई वसन्त श्रवण गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरे ।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।

राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरियो ।  समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए ।

देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना

यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा आराधना गरी मनाइँदैछ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धांगिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक कान छेड्न पनि शुभ मानिन्छ ।

उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्