काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाको संख्या सामान्य घटे पनि रेमिट्यान्स (विप्रेषण) आप्रवाह बढेको छ । नयाँ र पुन: श्रम स्वीकृति गरी गत आवको ६ महिनामा ४ लाख १८ हजार १९१ नेपाली कामका लागि बिदेसिए पनि चालु आवको सोही अवधिमा ३ लाख ४३ हजार ४०५ जना बिदेसिएका छन् । तर, रेमिट्यान्स आप्रवाह बढेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेर ७ खर्ब ३३ अर्ब २२ करोड पुगेको हो । पुसमा मात्रै १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
गत वर्षको ६ महिनामा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ छ ।
यो संख्या गत वर्षको ६ महिनाको तुलनामा कम हो । गत वर्षको सोही अवधिमा यो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ जना थियो ।