• Menu

पूर्वाञ्चल क्यान्सर अस्पतालमा बिरामीलाई निःशुल्क दोहोरो हवाई टिकट, यती एयरलाइन्ससँग सम्झौता

नेपाल प्रफिट

२०८१ माघ २०, १०:३८

पूर्वाञ्चल क्यान्सर अस्पतालमा बिरामीलाई निःशुल्क दोहोरो हवाई टिकट, यती एयरलाइन्ससँग सम्झौता

झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईंले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिए । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल २०७६ फागुन १८ देखि सञ्चालनमा छ ।

एक सय शय्याको सो अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत उपचार प्रविधि र उपलब्ध गराइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादवले बताए ।

‘निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका बिरामीलाई सहयोग मिल्नेछ । देशभरका बिरामीलाई पेटसिटीलगायत उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत जानुपर्ने बाध्यता हट्नेछ,’ उनले भने ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्न क्यान्सर संक्रमिण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख रहेको जानकारी दिए ।

‘देशको जुनसुकै भागबाट उपचार लिन आउने बिरामीले यो सुविधा एकपटक लिन सक्नुहुन्छ,’ उनले भने, ‘तर सुविधा पाउन क्यान्सर प्रमाणित भएको र अस्पतालमा सेवा लिएको सुनिश्चितताचाहिँ हुनुपर्छ ।’ बिरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने उनले बताए ।

जनसम्पर्क अधिकृत गिरीले विगत पाँच वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा ६ हजार ४८४ जना नयाँ क्यान्सरका बिरामीको उपचार भएको जानकारी दिए । चेतनाको कमी र आर्थिक अभावका कारण ग्रामीण र दुर्गम क्षेत्रका क्यान्सर बिरामीले उपचार पाउनबाट अझै वञ्चित हुनुपरेको उनको भनाइ छ ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकीय जनशक्ति भएका कारण सो अस्पतालमा देशका कुनाकाप्चा र विदेशबाट समेत उपचार गराउन आउनेको संख्या बर्सेनि बढिरहेको छ । पाँच वर्षमा पत्ता लागेका नयाँ बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका ८१४ जना र फोक्सो क्यान्सरका ८०५ जनाको उपचार गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. यादवले जानकारी दिए । उनका अनुसार त्यसपछि पाठेघरको क्यान्सर र नाक, कान, घाँटीको क्यान्सरका बिरामी छन् ।

नि:शुल्क हवाई टिकटको व्यवस्थाले स्थानीय पनि खुसी भएका छन् । गम्भीर प्रकृतिका बिरामीलाई उपचार खर्चमा सहुलियत पुर्‍याउने उद्देश्यले निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्झौताले अस्पताल धाइरहेका सेवाग्राहीलाई खुसी तुल्याएको मोरङको रतुवामाई नगरपालिका–५ का टीकाराम शिवाकोटीले बताए ।

उनले चार महिनादेखि पत्नीको फोक्सो क्यान्सरको उपचार सोही अस्पतालमा गराइरहेका छन् । बिरामीलाई अस्पताल लैजान र घर ल्याउन रतुवामाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराइरहेको उनले बताए ।

‘हुनेखानेका लागि अस्पताल जान सवारी साधनको कठिनाइ नहोला तर गरिब परिवारका लागि खर्चकै अभावले बेलैमा अस्पताल पुग्न कठिन हुनसक्छ,’ उनी भन्छन्, ‘विपन्न र असहाय बिरामीका लागि अस्पतालले यातायात र औषधोपचारमा सहुलियत गरिदिनैपर्छ ।’

पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराउन आउने असहाय र गरिब परिवारले सरकारको विपन्नता नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउने गरेको अस्पतालका जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारले विपन्न बिरामीका लागि अलग्गै दुई लाखसम्मको निःशुल्क उपचार सुविधा दिने गरेको छ ।