• Menu

प्रधानमन्त्री भन्छन्- सघन विमर्श गरी संविधान संशोधनका विषय पहिचान गरिनेछ

नेपाल प्रफिट

२०८१ माघ १८, शुक्रबार १४:३३

प्रधानमन्त्री भन्छन्- सघन विमर्श गरी संविधान संशोधनका विषय पहिचान गरिनेछ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी संविधान संशोधनका विषय पहिचान गरिने बताएका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने जानकारी गराए ।

‘यसका लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएका छन्,’ उनले भने, ‘त्यससँगै सरकारपक्षीय दलहरुसँगको छलफल गरिनेछ । विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिनेछ र पहिचान गरिएका विषयहरुमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरु र सरोकारवालाहरुसँग छलफल गरिनेछ ।’

मिलेका कुरामा साझा धारणा बनाउने र नमिलेका कुरामा बहस तथा छलफल गरिने उनले बताए । ‘संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस छलफलमा आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाउँछ र त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ,’ उनले भने ।