• Menu

पोखरा-मुग्लिन सडक निर्माणले लियो गति, कहिले सकिएला ?

नेपाल प्रफिट

२०८१ माघ १७, १२:०९

पोखरा-मुग्लिन सडक निर्माणले लियो गति, कहिले सकिएला ?

कास्की । पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम पोखरा-जामुने खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ । ‘तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ भने कास्की खण्डमा धमाधम कालोपत्र भइरहेको छ,’ उनले भने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।’

तनहुँमा २०.८ किमी र कास्कीमा १८.०८ किमी सडक कालोपत्र भइसकेको छ । चार लेन दुवैतर्फ तनहुँमा १०.०८ र कास्कीमा ४.३९ किमी र तनहुँमा दुई लेन एकतर्फी ७.९८ किमी र कास्कीमा ६.०७ किमी सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिए । तनहुँमा २.७४ किमी र कास्कीमा ७.६२ किमी गरी कुल १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले २०७८ सालदेखि उक्त खण्डको काम सुरु गरेको हो । ‘आयोजनाको पछिल्लो भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ, जनवरी महिनाको प्रगति भने थप हुन बाँकी छ,’ इन्जिनियर नेपालले भने, ‘पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिँहचोक, बुढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको छ, तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको छ ।’

कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको हो । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए ।

वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको उनको भनाइ छ । ‘सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम द्रुत गत गतिमा भइरहेको छ,’ उनले भने, ‘निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।’

कोभिड-१९ महामारीलगायतका कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि अहिले कामले गति लिएको उनले बताए । ३८.८८ किमी दूरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौवटा पुल निर्माणको काम अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ ।

यनहुईले सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको छ । कुल ८१ किमी दूरीको पोखरा-मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । ४१.४५ किमीको पूर्वी खण्डमा पनि २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको छ ।

पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा ६ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले ६ अर्ब २१ करोड ३१ लाखमा उक्त खण्डको ठेक्का लिएको थियो ।

पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिन सडकलाई चार लेनमा स्तरोन्नति गर्न लागिएकोमा पूर्वी खण्ड जामुने-मुग्लिनमा भने कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्