• Menu

प्रदेश र स्थानीय तहसँग आगामी वर्षको अनुदानका लागि प्रस्ताव माग, कार्यविधि संशोधनले डेढ महिना ढिलाइ

नेपाल प्रफिट

२०८१ माघ १६, बुधबार १२:४४

प्रदेश र स्थानीय तहसँग आगामी वर्षको अनुदानका लागि प्रस्ताव माग, कार्यविधि संशोधनले डेढ महिना ढिलाइ

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय समपुरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ । प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन फागुन १५ भित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेश गरिसक्न भनेको हो ।

अघिल्ला वर्षहरुमा आयोगले समपुरक र विशेष अनुदानका योजनाको प्रस्ताव पुस मसान्तभित्र माग गरिसक्थ्यो । तर, यसपटक राष्ट्रिय विकास समस्या समाधान समितिले समपुरक र विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्न निर्देशन दिएपछि प्रस्ताव माग गर्न ढिला भएको हो ।

आयोगका सहप्रवक्ता डा. दिवाकर लुइँटेलका अनुसार कार्यविधि संशोधन भएर कार्यान्वयनमा आएसँगै अनुदानका लागि प्रस्ताव माग गरिएको हो । ‘समपुरक अनुदानमा संघले ५० प्रतिशत योगदान गर्ने र बाँकी ५० प्रतिशत सम्बन्धित प्रदेश तथा स्थानीय तहले व्यहोर्ने यसअघिको व्यवस्था संशोधन गरी २० देखि ८० प्रतिशतसम्म व्यहोर्नुपर्ने व्यवस्था ल्याइएको छ । सोही व्यवस्थाअनुसार आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रमको माग गरिएको हो,’ उनले भने ।

विशेष अनुदानसम्बन्धी कार्यविधि २०८१ ले यो शीर्षकमा अनुदान दिँदा योजना तथा कार्यक्रमको लागत तोकेको छ । गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रममा २५ लाखदेखि तीन करोड लागत हुनुपर्नेछ ।

त्यस्तै, उपमहानगर र महानगरबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको लागत अनुमान न्यूनतम २५ लाखदेखि अधिकतम पाँच करोडसम्म तोकिएको छ । संघीय विशेष अनुदानअन्तर्गत प्रदेश सरकारबाट कार्यान्वयन हुने आयोजना वा कार्यक्रमको लागि कुल लागत अनुमान पाँच करोडदेखि १० करोड तोकिएको छ । विशेष अनुदानअन्तर्गतका पूर्वाधार आयोजना तीन वर्षभित्र र अन्य कार्यक्रम सालबसाली रुपमा सम्पन्न गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

समपुरक अनुदानसम्बन्धी कार्यविधि २०८१ अनुसार गाउँपालिका वा नगरपालिकाले एक करोडदेखि सात करोडसम्मको लागतको आयोजना तथा कार्यक्रमका लागि संघ सरकारसँग अनुदान माग गर्न सक्छन् । त्यस्तै, उपमहानगर र महानगरले तीन करोडदेखि १५ करोड र प्रदेशले १० करोडदेखि ३० करोडसम्मका आयोजनाका लागि प्रस्ताव हाल्न सक्छन् ।

प्रदेश र स्थानीय तहले अनलाइन प्रणालीबाट मात्रै समपुरक र विशेष अनुदानसम्बन्धी प्रस्ताव हाल्न पाउने व्यवस्था रहेको सहप्रवक्ता लुइँटेलले बताए । त्यस्तै, यस्ता आयोजना तथा कार्यक्रममा अनुदान लिनका लागि प्रस्ताव पेस गर्दा कार्यविधिले तोकेको प्रक्रिया र कागजात आवश्यक हुने उनले स्पष्ट पारे । ‘अनुदानका लागि आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा विस्तृत कागजात पेस गर्नुपर्ने हुन्छ । कार्यविधिले तोकेको प्रक्रिया नपुर्‍याइकन परेका प्रस्ताव अनुदानका लागि योग्य हुँदैनन्,’ उनले भने ।

कार्यविधिअनुसार यी शीर्षकमा अनुदान लिनका लागि आयोजनाको सम्भाव्यता अध्ययन, ड्रइङ, डिजाइन, स्पेसिफिकेसनसहितको विस्तृत विवरणको लागत अनुमान पेस गर्नुपर्ने हुन्छ । त्यस्तै, वातावरणीय अध्ययन प्रतिवेदनलगायतका कागजात चाहिन्छन् ।

अनुदान माग गर्नका लागि स्थानीय तहको हकमा सम्बन्धित कार्यपालिकाको निर्णय र प्रदेशको हकमा सम्बन्धित प्रदेश योजना आयोगको सिफारिसमा प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको हुनुपर्ने व्यवस्था कार्यविधिमा छ ।

प्रतिक्रिया दिनुहोस्