• Menu

हड्ताल फिर्ता लिएर पाथिभरा केवलकार निर्माणमा सहयोग गर्न फुङलिङ नगरपालिकाको आग्रह

नेपाल प्रफिट

२०८१ माघ १५, १७:४८

हड्ताल फिर्ता लिएर पाथिभरा केवलकार निर्माणमा सहयोग गर्न फुङलिङ नगरपालिकाको आग्रह
फाइल तस्बिर ।

काठमाडौं । फुङलिङ नगरपालिकाले पाथिभरा मुक्कुमलुङ केवलकार निर्माणमा अवरोध गर्ने समूहले आह्वान गरेको ताप्लेजुङ बन्द र हड्तालका कार्यक्रम अविलम्ब फिर्ता लिन आग्रह गरेको छ ।

नगर प्रमुख अमिर मादेनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी केवलकार निर्माण गर्ने क्रममा ‘नो केवलकार’ समूह र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरपालिकाले भदौ २१ मा गरेको निर्णयको स्मरण गराएका छन् ।

नगर कार्यपालिकाको ४५औं बैठकले विभिन्न ठाउँबाट आउने सवारी साधन नगरपालिका प्रवेश गर्ने क्रममा कसैले बन्द अवरोध गर्न नपाउने निर्णय पारित गरेको थियो । सोही बैठकले नगरपालिका क्षेत्र भित्र सञ्चालित उद्योग, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरु कुनै पनि राजनीतिक दल, संघसंस्था वा समूहले अवरोध गर्न गराउन नपाउने निर्णय गरेको थियो ।

मेयर मादेनले विज्ञप्तिमार्फत आज बसेको कार्यपालिकाको बैठकले बन्द र हड्तालले समस्याको समाधान नगर्ने भएकाले अविलम्ब बन्दका कार्यक्रम फिर्ता गरी वार्ता र संवाद गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।

‘आज मिति २०८१  माघ १५ मा बसेको ५४औं कार्यापालिका बैठकले समेत बन्द र हड्तालमात्र समस्याको समाधान नहुने भनी निर्णय गरेकाले सबै पक्षबीच आपसी छलफल, वार्ता, संवाद र समन्वयका आधारमा सबैको स्वामित्व र अपनत्व कायम गर्दै पुन: यातायात, उद्योग, व्यापार, व्यवसाय, बैंक तथा वित्तीय संस्थालगायतशैक्षिक संस्थाहरु बन्द हड्ताल नगरी सम्बन्धित पक्षहरुमा थप क्षति हुनबाट बच्न सहमतिका लागि वार्ताद्वारा समस्या समाधान गर्न नगरपालिकाका तर्फबाट अनुरोध गर्दै केवलकार निर्माण कार्य अगाडि बढाउन सहयोग गर्नुहुन सम्बन्धित पक्षहरु बीच हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

माघ १२ गते फुङलिङ नगरपालिका वडा नं १२ बलुडाँडामा सुरक्षा निकाय र नो केवलकार समूहबीच झडप हुँदा आन्दोलनकारीतर्फ पाँच र प्रहरीतर्फ १३ जनाभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्