नवलपुर । स्थानीय जनप्रतिनिधिले सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् । नवलपुरको मध्यविन्दु नगरपालिका–३ का अध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो आम्दानी गरेका हुन् ।
समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको समयमा उनले भने युट्युबमा राखिएका कृषिसम्बन्धी भिडियोबाटै सिकेर च्याउखेती थालेका थिए । ‘मैले च्याउखेतीका बारेमा कुनै औपचारिक तालिम लिएको छैन,’ उनले भने, ‘युट्युबमा आउने भिडियो हेरेर च्याउखेतीका बारेमा धेरै कुरा बुझेपछि आफैँले खेती गरेको छु, निकै राम्रो भइरहेको छ ।
अध्यक्ष महतोले युट्युबमा राखिएको भिडियोबाट प्रेरित भएर एमडी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी घरैमा व्यावसायिक रूपमा च्याउखेती सुरु गरेको बताए । उनले ७२० वर्गफिटमा संरचना निर्माण गरी डल्ले च्याउ र ४५० वर्गफिटमा छुट्टै संरचना बनाएर पाते च्याउखेती गरेका छन् ।
च्याउखेतीका लागि निर्माण भएका दुईवटा संरचनाबाहेक उनले दुई लाख ७५ हजार लगानी गरेका छन् । मूल्य भने आफ्नो वशमा नरहेको उनको गुनासो छ । ‘उत्पादन गर्ने क्षमतासम्म किसानको हातमा हुन्छ तर बजारीकरण भने व्यापारीको हातमा हुन्छ,’ अध्यक्ष महतोले भने, ‘यस क्षेत्रमा बजारीकरणको अलि समस्या नै छ, मेरो आज उत्पादन भएको च्याउ लगेर बिक्री गर्न पाइनँ ।’
गाउँका उपभोक्ता च्याउ खोज्दै उनीकहाँ पुग्ने गरे पनि बजारसम्म भने आफैँले ढुवानी गरिदिनुपर्ने बाध्यता छ । च्याउ टिप्न ढिला हुँदा बिग्रिएर जाने भएकाले उनले बिक्री नभएको ताजा च्याउ सुकाएर धुलो बनाएर राख्ने गरेका छन् ।
‘किसान उत्पादनमा जोडिनुपर्छ भनेर राज्य लागिरहेको छ, त्यसमा जोडिएपछि नागरिकलाई पनि भन्न सजिलो हुन्छ भनेर यो खेती सुरु गरेँ,’ उनले भने, ‘मैले पनि कृषि गरेर उत्पादन गरिरहेको छु, तपाईं पनि गर्नुस् भनेर किसानलाई भन्न सजिलो हुन्छ ।’
उत्पादनसँग जोडियो भने बिक्री तीव्र भएर आर्थिक उन्नति हुन्छ भन्ने हिसाबले लाग्नुपर्ने उनले बताए । राज्यले कृषिमा अनुदान दिइरहेको भए पनि उनले अहिलेसम्म कुनै अनुदान लिएका छैनन् ।
‘मैले अनुदान लिएर कृषि सुरु गरेँ भने जनप्रतिनिधि भएर आफैँले अनुदान लियो भनेर भन्छन् । त्योभन्दा बरु मैले अनुदान नलिई काम गर्छु,’ उनले भने, ‘अन्य किसानले भने पालिकाबाट अनुदानका लागि निवेदन माग गरेको बेला सहभागी भएर अनुदान लिएर कृषि गर्नुभयो भने दिगो हुन्छ ।’ दिनभरि वडावासीको काममा समर्पित हुने उनले फुर्सदको समय च्याउखेतीमा दिने गरेका छन् ।
सबै जनाले एकै प्रकारको खेती गर्न सुरु गर्दा उत्पादन बढी र माग थोरै हुने हुँदा निर्यात गर्नेगरी उत्पादन गर्न राज्यले सहयोग गर्नुपर्ने उनले बताए । ‘जबसम्म हामी निर्यात गर्न सक्दैनौँ, हाम्रो उत्पादन विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको हुँदैन, किसानलाई बजारीकरणको समस्या परिरहन्छ,’ उनले भने, ‘हामी विश्व व्यापार संगठनको सदस्य भएपछि विश्वका जुनसुकै ठाउँको सामान यहाँ आउँछ । उपभोक्ताले सस्तो सामान खरिद गर्न पाउँछन् ।’
राज्यले कृषिमा अनुदान बढाएर किसानको उत्पादन लागत घटाउन मद्दत गरेमा अन्य मुलुकको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने उनको बुझाइ छ । त्यस्तै च्याउमा कुनै पनि विषादी प्रयोग गर्न नपर्ने भइकाले उत्पादक र उपभोक्ता दुवैलाई फाइदा हुने पनि उनले बताए ।
सिजनअनुसार पाते च्याउ १३० रुपैयाँदेखि २ सय रुपैयाँसम्म र डल्ले च्याउ ३५० देखि ६०० रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको अध्यक्ष महतोको अनुभव छ । प्रविधि भित्र्याउँदै च्याउखेतीलाई विस्तार गर्दै अगाडि बढ्ने योजना उनको छ ।
(रासस)