• Menu

पर्यटन नेपालको समृद्धिको आधार हो, सरकारले लगानी गर्छ : मन्त्री दाहाल

नेपाल प्रफिट

२०८१ माघ १, १८:२४

पर्यटन नेपालको समृद्धिको आधार हो, सरकारले लगानी गर्छ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधारका रुपमा रहेको बताएका छन् । नेपाल बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा रहेकाले विदेशी मुद्रा आर्जनका लागि समेत यो क्षेत्र उपयोगी रहेको उनले बताए ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ मा मंगलबार ११औं तारेभीर पर्यटन महोत्सव उद्घाटन समारोहमा उनले ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यसम्म पूर्वाधार विस्तार गर्ने प्रतिबद्ध पनि जनाए । मौलिक पर्यटकीय गन्तव्यसम्म सडक एवं पूर्वाधारको विकास र विस्तार गरी ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने मन्त्री दाहालको भनाइ छ ।

‘यस्ता सम्भाव्य स्थानहरुमा पूर्वाधार विस्तारको खाँचो छ,’ उनले भने, ‘सडक विस्तारले अत्यावश्यकीय सेवा उपयोगका लागि सहज हुनका लागि गाउँमै स्वरोजगारी सिर्जना, कृषि उपजको बजारीकरण एवं पर्यटकीय क्षेत्रहरुको विकास पनि हुने भएकाले हामी यसलाई प्राथमिकतामा राख्छौं ।’

त्यस क्रममा स्थानीयहरुको तर्फबाट तारेभीर चक्रपथको डीपीआर समेत मन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो । उक्त चक्रपथ पूरा भए काठमाडौँभित्रको ग्रामीण क्षेत्रको रुपमा रहेका दर्जनौँ बस्तीहरुको जनजीवन सहज हुनका साथै आर्थिक गतिविधिसमेत चलायमान हुने बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठ, जनप्रतिनिधिहरु, विभिन्न कलाकारलगायतको उपस्थिति थियो ।

यस्तै विभिन्न समुदायको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने स्थानीय उत्पादन, परम्परागत सामग्रीहरुको प्रदर्शनसमेत गरिएको थियो । आन्तरिक पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष तारेभीर महोत्सव आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्