• Menu

जिल्लामै एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित

नेपाल प्रफिट

२०८१ पुस २९, १७:४४

जिल्लामै एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित

झापा । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुसी व्यक्त गरेका छन् । बिर्तामोडको बी एन्ड सी मेडिकल कलेजले पुस २६ देखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो ।

काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृतिमा कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । बिर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा छ ।

प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरू हुनु झापावासीका लागि गर्वको विषय भएको बताए । ‘समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र महिला समुदायलाई एमबीबीएस पढ्ने कोटा दिन सके अझ राम्रो हुन्थ्यो,’ उनले भने, ‘राजवंशी, सन्थाल, मेचे, धिमाल, ताजपुरियालगायत आदिवासी समुदाय प्राविधिक शिक्षाको पहुँचबाट टाढै छ ।’

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले खाडी मुलुकमा पसिना गालेर कमाएको पैसा छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउन अस्ट्रेलिया, युरोप र अमेरिका पठाउनुपर्ने बाध्यता अब हट्ने भन्दै जिल्लामा मेडिकल शिक्षा सुरू भएकोमा खुसी व्यक्त गरे ।

उनले देशभित्रै पढ्न नपाउँदा बर्सेनि अर्बौं रकम विदेश गइरहेको र बी एन्ड सी मेडिकल कलेजले अध्ययनको नाममा नेपाली पुँजीको विदेश पलायन रोक्न ठूलो सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । ‘झापा अब मेडिकल हब बन्नेछ,’ उनले भने, ‘कलेजको नाफा र घाटा सञ्चालकको भए तापनि मेडिकल कलेज सम्पूर्ण झापावासीको साझा सम्पत्ति हो । हिजोका दिनहरूमा झापालीहरू डाक्टर पढ्न विदेश जान्थे, अब विदेशबाट झापा आउने क्रम सुरू भएको छ ।’

महिला मानवअधिकार रक्षा सञ्जाल झापाकी अध्यक्ष कविता बाँस्तोलाले छोरी–बुहारीका लागि स्वास्थ्य विज्ञान विषयमा अध्ययन गर्न जिल्लामै सुनौलो अवसर आएको बताइन् । उनले विदेशमा डाक्टर पढ्न जाँदा सुरक्षाका लागि विवाह गर्नैपर्ने र परनिर्भर हुनैपर्ने बाध्यताबाट छोरीहरूले छुटकारा पाएको धारणा राखिन् ।

‘छोरीहरूले विदेश पढ्न जान सहज थिएन,’ उनी भन्छिन्, ‘पुरूष साथी खोज्नुपर्ने र कतिपय अवस्थामा विवाह गर्नैपर्ने बाध्यतात्मक अभ्यास थिए । अभिभावक पनि त्यस्तै चाहन्थे । तर, जिल्लामै एमबीबीएस पढ्ने अवसर पाउँदा ती तमाम समस्याको एकैचोटी समाधान भएको छ । जिल्लामै अभिभावकसँग बसेर पढ्न पाइने भएको छ ।’

नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश कमिटी सदस्य एवं झापा क्षेत्र नं १ का इन्चार्ज प्रकाश भण्डारीले बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सुरू हुनु भनेको झापाको शैक्षिक इतिहासमा नयाँ युगको थालनी भएको बताए ।

‘अझ धेरै अगाडि एमबीबीएसको पढाइ झापामा हुनुपर्थ्यो,’ उनले भने, ‘क्षमता भएका जिल्लाबासीका छोराछोरीले आफ्नै आँगनमा मेडिकल शिक्षा हासिल गर्नसक्ने अवस्था आउनु गौरवको विषय हो । विदेशमा मात्रै पढ्नुपर्ने बाध्यताको अन्त्य भएको छ । बंगलादेशमा गत वर्ष आन्दोलन हुँदा नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सकस भएको हामीले भुल्नु हुँदैन । अब जिल्लामै पढ्न पाएपछि विदेशको अनेक जोखिम मोल्नु परेन ।’

नेपाल अडिटर्स एसोसिएसनका केन्द्रीय सचिव जयधर्म पोखरेलले बंगलादेशमा एउटा नेपालीले एमबीबीएस कोर्स पूरा गर्न एक करोड रुपैयाँ तिर्नु परिरहेको र बी एन्ड सीले जिल्लामै पठनपाठन गराउँदा हरेक ब्याचमा ५० करोड पुँजी विदेश जानबाट रोकिने बताए ।

उनले दुई वर्षअघि बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सञ्चालन हुनसकेको भए आफ्नो छोराले बंगलादेश जानु नपर्ने स्मरण गरे । ढिलै भए पनि झापामा पढाइ हुँदा अभिभावकमा खुसीको माहौल छाएको बुझाइ छ ।

‘मेरो छोराले बाध्यताबस बंगलादेशमा पढ्न जानुपर्‍यो । हामी विदेशमा ठूलो धनराशि खर्चेर पढ्न जानुपर्ने अवस्थाको अन्त्य भएको हेर्न चाहन्थ्यौँ । झापामा एमबीबीएसको पढाइ अलि अगाडि नै सुरू हुनुपर्थ्यो,’ उनले भने ।

विदेशीहरू पढ्न आउन थाले

पुस २६ देखि पठनपाठन सुरू भएको बी एन्ड सी मेडिकल कलेजमा अध्ययनरत ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् ।

स्वदेशी ३४ जनाध्ये पाँच जनाले नेपाल सरकारको नियमअनुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । ‘पश्चिम बंगालको बागडोग्रा विमानस्थलबाट ३५ किलोमिटरको दूरीमा मेडिकल कलेज रहेको हुँदा भारतीय विद्यार्थीका लागि बी एन्ड सी पहिलो रोजाइ बनेको पाइयो,’ उनले भने, ‘हिजोका दिनमा नेपाली मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता थियो, अब विदेशीहरू धाएर नेपालमा आउन थाले ।’

आफ्नै जिल्लामा एमबीबीएस तहको पठनपाठन गराउने झापावासीको दशकौँ पुरानो चाहना बल्ल पूरा भएको उनको भनाइ छ । मेडिकल कलेजका लागि २०६८ सालमा सरकारबाट आशयपत्र पाउँदा र २०७१ मा ३०० शय्याको अस्पताल सञ्चालन हुँदासमेत पठनपाठन सुरू हुन एक दशक कुर्नुपरेको उनले बताए ।

सत्तरी जना प्रोफेसर कार्यरत

बी एन्ड सी मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. उमेश शर्माले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बी एन्ड सी कान्छो कलेज भएको स्मरण गर्दै पठनपाठन सुरू हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको बताए ।

उनले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बी एन्ड सी मेडिकल कलेज रोजेको र मेचीनगर–१२ स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बाइलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजी लगायतका सुविधा सम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको जानकारी दिए ।

‘शान्त र सुविधासम्पन्न छ पढाउने भवन,’ प्रा.डा. शर्माले भने, ‘बेसिक साइन्स भवनमा पाँच तला छन् । दुई वटा ठूला सेमिनार हल छन् । सात वटा डिपार्टमेन्टका अलग–अलग कक्षा कोठा छन् । अत्याधुनिक प्रयोगशाला र पुस्तकालय छ ।’

सबै विद्यार्थीलाई छात्रावास सुविधा र शैक्षिक वातावरण राम्रो रहेको र झापामा बी एन्ड सी अस्पतालको स्थापनापछि एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएको तथा अब कलेज सञ्चालन भएपछि अरू एक हजार रोजगारी सिर्जना हुने बताए ।

‘भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिका दृष्टिले बी एन्ड सीले धेरै अगाडि मेडिकल कलेजको सम्बन्धन पाउनुपर्थ्यो,’ उनले भने, ‘सुरूमै पढाइ हुन पाएको भए यतिखेर एक हजार जनाले एमबीबीएस उत्तीर्ण गरिसक्थे भने यहाँ पढ्नेहरू प्रोफेसर भइसक्थे ।’ झापाको आर्थिक विकासमा बी एन्ड सी मेडिकल कलेज र हस्पिटलले ठूलो टेवा पुर्‍याएको र जिल्लालाई मेडिकल शिक्षा र मेडिकल टुरिजमको हब बनाउने बाटो खुलाएको उनको धारणा छ ।

सर्वोच्च अदालतले २०८० चैत १३ गते बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।