• Menu

भिजिट भिसाका नाममा मानव तस्करी : ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दर्ता

नेपाल प्रफिट

२०८० माघ १८, २०:४७

भिजिट भिसाका नाममा मानव तस्करी : ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । भिजिट भिसाका नाममा मानव तस्करी गरेको अभियोगमा ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी लिखत किर्ते र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर भएको हो ।

मुद्दा दर्ता हुनेमा विमानस्थलमा अध्यागमनमा कार्यरत रहेर हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत ताराबहादुर कुँवर तथा अध्यागमन अधिकृतहरु कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो लिम्बूलाई फरार प्रतिवादी बनाइएको छ ।

अध्यागमन अधिकृत नरवीर खड्कालाई भने उपत्यका अपराध अनुसन्धान कार्यालयले २०८० कात्तिक २६ मै पक्राउ गरेको थियो । सेटिङबापतको २ लाख रुपैयाँ होटल वाल्टिक इनबाट लिएर फर्किँदै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार खड्का र कुँवरसँग सेटिङ मिलाएर विचौलियाले युवालाई खाडी मुलुक पठाउने गरेका थिए । पक्राउ परेकामध्येका एक ट्राभल्स एजेन्सीका सञ्चालक मनोज तामाङ छन् । उनले अध्यागमनका दुई अधिकृतलाई पैसा बुझाएर विमानस्थलको सेटिङ मिलाएको बयान दिएका छन् ।

अन्य कर्मचारी मिलाउने काम खड्काले नै गर्ने गरेको उनले बताएका छन् । खड्काको बयानका आधारमा प्रहरीले थप ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

अध्यागमनका कर्मचारीमाथि छानबिन अघि बढेपछि विमानस्थलमा कर्मचारीहरुले केही दिनअघि कामसमेत रोकेका थिए । प्रहरीले अनावश्यक दुःख दिएको र आफूहरुको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै कर्मचारीले ज्ञापन पत्र बुझाएर काम ठप्प पारेका थिए ।