काठमाडौं । सामाजिक सुरक्षा कोषले ठुला जलविद्युत आयोजनाहरूमा लगानी गर्ने भएको छ । त्यसका लागि कोषले जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) सँग सहकार्यका लागि सम्झौता गरेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद गौतमले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार दुई संस्थाले जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनामा सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्नेछन् ।
लगानी कार्यविधिअनुसार सुरक्षित एवं दिगो प्रतिफलयुक्त क्षेत्रमा कोषले लगानी गर्ने जनाएको छ । उक्त रकम लगानी गरेर योगदानकर्तालाई दिगो प्रतिफल दिन तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गरी आर्थिक विकासमा टेवा पुर्याउन सम्झौता गरिएको कोषले जनाएको छ ।
कोषका कार्यकारी निर्देशक अधिकारीले कार्यविधिको अधिनमा रही लगानीलाई बृहत बनाउने तयारी भइरहेको बताएका छन् । ‘हाम्रा केही सीमा छन्,’ उनले नेपाल प्रफिटसँग भने, ‘ती सीमाभित्र रहेर लगानीको दायरा बढाउँछौं ।’
नेपाल सरकारको स्वामित्व र नियन्त्रणमा रहेको एचआईडीसीएलले आन्तरिक तथा बाह्य क्षेत्रबाट वित्तीय स्रोत परिचालन गरी जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण, वितरण तथा व्यापारसँग सम्बन्धित आयोजनाहरूमा ऋण तथा स्वपुँजी लगानी गर्दै आएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले कोषको पुँजी र कम्पनीको विशिष्ट ज्ञानको फ्युजनमार्फत ऊर्जा क्षेत्रमा सिनर्जी प्रभाव सिर्जना हुने बताए ।