• Menu

कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्न सरकारले सहयोग गर्छ: प्रधानमन्त्री

नेपाल प्रफिट

२०८० माघ १५, ११:४९

कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्न सरकारले सहयोग गर्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभामा उनले भने, ‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्छ ।’ उनले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिए ।

साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने प्रतिबद्धता जनाए ।

‘बाटोघाटोको असुविधा, दक्ष चिकित्सकहरू र प्राविधिकहरूको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्या छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ । आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ,’ उनले भने ।

चिकित्सक, प्राविधिकहरू र कर्मचारीहरूको वृत्तिविकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको प्रचण्डले बताए ।