सिरहा । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले पाँच करोड पाँच लाख ४० हजार राजस्व संकलन गरेको हो ।
प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाका अनुसार कार्यालयले पाँच महिनामा चार करोड ८८ लाख ५२ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेका थिए । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ४१.६७ प्रतिशत राजस्व संकलन गरेको हो ।
कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ९७ लाख ९५ हजार, भदौमा एक करोड सात लाख ७२ हजार, असोजमा एक करोड दुई लाख ७६ हजार, कात्तिकमा एक करोड चार लाख १७ हजार र मंसिरमा ९२ लाख ८० हजार राजस्व संकलन गरेको छ ।
गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा दुई करोड ७७ लाख ४७ हजार राजस्व वृद्धि भएको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा दुई करोड ३८ लाख ९३ हजार राजस्व संकलन भएको थियो ।
चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य १२ करोड १२ लाख ९२ हजार रहेको छ । सिरहामा माडरस्थित सिरहा भन्सार, बरियापट्टीस्थित छोटी भन्सार र भगवानपुरस्थित ठाडी भन्सार कार्यालय रहेका छन् ।