• Menu

निर्यात १६ प्रतिशत बढ्यो, आयातमा पनि सामान्य वृद्धि

नेपाल प्रफिट

२०८१ पुस ८, १२:२५

निर्यात १६ प्रतिशत बढ्यो, आयातमा पनि सामान्य वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म आइपुग्दा निर्यातमा उच्चदरको वृद्धि देखिएको छ । कात्तिकसम्ममा गत वर्ष २०८०/८१ को चार महिनाको तुलनामा जम्मा ४ प्रतिशतको निर्यात वृद्धि देखिएकोमा मंसिरसम्म आइपुग्दा १६.५४ प्रतिशतको वृद्धि देखिएको हो ।

गत वर्षको साउनदेखि मंसिरसम्ममा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएकोमा चालु आवको सोही अवधिमा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँबराबरको निर्यात भएको हो ।

समीक्षा अवधिमा आयात ३ प्रतिशतले बढेको छ । गत वर्षको पाँच महिनामा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँबराबरको आयात भएकोमा चालु आवको सोही अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँबराबरको आयात भएको छ ।

निर्यात बढे पनि व्यापार घाटा थप बढेको छ । समीक्षा अवधिमा गत वर्ष ५ खर्ब ७९ अर्बको व्यापार घाटा व्यहोरेको नेपालले यो वर्ष सोही अवधिमा ५ खर्ब ८७ अर्ब व्यापार घाटा व्यहोरेको भन्सार विभागले जनाएको छ ।

समग्र वैदेशिक व्यापार भने यो अवधिमा ४.२१ प्रतिशतले बढेको छ । गत वर्ष पाँच महिनामा ७ खर्ब ५ अर्ब ४१ करोडको वैदेशिक व्यापार भएकोमा यो वर्षको सोही अवधिमा ७ खर्ब ३५ अर्ब १४ करोडको वैदेशिक व्यापार भएको हो ।