• Menu

भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर, सडक निर्माणमा अनियमितताको अभियोग

नेपाल प्रफिट

२०८१ पुस ८, १०:५६

भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर, सडक निर्माणमा अनियमितताको अभियोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको पाइएकाले उनीहरुविरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इञ्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिस्टेन्ट सब–इन्जिनियर लालमान तामाङविरुद्ध १० लाख ८९ हजार ९८९ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

यसैगरी, रुबीभ्याली गाउँपालिकाका–४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद र जरिवाना माग गरिएको छ । स्थानीय पागोदेखि स्कुलसम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सञ्जीव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध पनि १० लाख ८९ हजार ९८९ रुपैयाँबराबर बिगो माग गर्दै मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।