• Menu

माधव नेपाल नेतृत्वको बुद्धिजीवी परिषद समाजवादीका उपाध्यक्ष गिरिधर मिश्र एमालेमा फर्किए

नेपाल प्रफिट

२०८१ पुस ७, १२:११

माधव नेपाल नेतृत्वको बुद्धिजीवी परिषद समाजवादीका उपाध्यक्ष गिरिधर मिश्र एमालेमा फर्किए

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को बुद्धिजीवीहरुको संगठन बुद्धिजीवी परिषद समाजवादीका उपाध्यक्ष गिरिधर मिश्र नेकपा (एमाले)मा फर्किएका छन् । नेपाल बुद्धिजीवी परिषद्को छैटौं केन्द्रीय कमिटी बैठकको अवसर पारेर शनिबार मिश्र एमालेमा फर्किएका हुन् ।

कार्यक्रममा उनले एमालेको ‘घर फर्क’ अभियानअन्तर्गत आफू फर्किएको बताएका छन् । ‘पार्टीको अभियानअन्तर्गत घर फर्किँदा म गौरव महसुस गरिरहेको छ,’ उनले भने, ‘वास्तवमा म घरबाट बाहिर गएको होइन, परिस्थितिको सिकार भएको हुँ, हुलमुलमा घरकै वरिवरि आँगनमा ठेस लागेर म लडेर बसेँ, आफैँ उठ्न पनि थोरै समय लाग्यो ।’

पार्टीमा द्वन्द्व आउँदा त्यसको सिकार भएको उनले पटक–पटक दोहोर्‍याए । मिश्रले स्थायी घर रौतहट भएकाले पनि एकीकृत समाजवादीसँग जोडिनुपरेको बाध्यता सुनाए । ‘कुरो बुझिहाल्नुभयो होला, मेरो स्थायी घर रौतहट हो,’ माधव नेपालको जबर्जस्तीका कारण एकीकृत समाजवादीमा जोडिनुपरेकोतर्फ संकेत गर्दै उनले भने, ‘नेताहरुको निकटताले मलाई त्यता लग्यो तर चार वर्षको अवधिमा पार्टीका कुनै बैठकमा गइन ।’

समाजवादीमा प्रवेश गरेपछि साह्रै छटपटाहट भएको उनले सुनाए । ‘मबाट कता–कता गलत भइरहेको भन्ने भइरह्यो,’ मिश्रले भने, ‘हिजो जुन स्पिरिटमा काम गरेँ, त्यसबाट विचलित भएको भड्किएको महसुस भयो ।’

बुबा प्रधानपञ्च भएकाले घरबाटै विद्रोह गरेर कम्युनिस्ट भएको मान्छे बाटो बिराउँदा आत्मग्लानी महसुस भएको उनले बताए । ‘बाटो बिराएको मान्छे डा. सा’ब (दिनेशचन्द्र देवकोटा) का कारण सही मार्गमा फर्किएको छु,’ मिश्रले भने, ‘अबदेखि कुनै पनि गलत नगरी पार्टीका लागि निष्ठासाथ मन, वचन र कर्मले समर्पित हुने प्रण गर्छु ।’

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल एवं बुद्धिजीवी परिषदका अध्यक्ष डा. देवकोटा र एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले मिश्रलाई खादामाला ओढाएर पार्टीमा स्वागत गरेका छन् ।