काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले ऐतिहासिक उपाधि उचालेको हो ।
एनपीएलको उद्घाटन खेलमा मंसिर १६ गते विराटनगरलाई पराजित गर्दै एनपीएल यात्रा सुरू गरेको जनकपुरले अन्तिम खेल पनि आफ्नो पक्षमा पारेको छ । उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ ।
त्रिवि क्रिकेट मैदानमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले विजेता टोलीलाई ट्रफी हस्तान्तरण गरेका छन् । एनपीएल ट्रफी काठमाडौंको धरहरा परिसरमा मंसिर १० गते अनावरण गरिएको थियो । ट्रफीमा सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्र कालापत्थरको ढुंगा प्रयोग गरिएको छ ।

उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख, प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको कर्णाली याक्सले २५ लाख तथा चौथो स्थान हासिल गरेको चितवन राइनोजले १५ लाख पुरस्कार पाएका छन् ।
आज विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्डले अवार्ड वितरण गरेका हुन् ।
प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका सेफ अली जैबले हात पारे । उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । सर्वोत्कृष्ट खेलाडी बनेका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ओमोडा ईभी कार पुरस्कार पाएका छन् । एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाए ।
कर्णाली याक्सका विपिनप्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारे । उनले ५० हजार नगद र एक लाखबराबरको छात्रवृत्ति पाएका छन् । त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट जनकपुरका जिमी निसम घोषित भए । उनले २ लाख रूपैयाँ प्राप्त गरे ।
अत्यधिक चौका अवार्ड लाहिरु मिलान्थाले पाए भने फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गर्यो ।