काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले अर्थमन्त्री पौडेलले एसिया प्रशान्त क्षेत्रमा सार्वजनिक पुँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पुँजीको विस्तार र परिचालनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने धारणा उनले राखे । अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको बताए । त्यसका लागि एसिया प्रशान्त क्षेत्रका देशबीच सहकार्य गर्न सकिने उनको दृष्टिकोण छ ।
एसिया प्रशान्त क्षेत्रमा वित्तीय पुँजीलगायत धेरै सम्भावना रहेको तथा नीति, नियमहरू र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरिने प्रयासलाई सामूहिक रुपमा अघि बढाउनुपर्ने उनले बताए ।
दिगो विकासको लक्ष्य हासिल गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा दायित्व हुने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यक्रमलाई सफल बनाउन वित्तीय स्रोतहरू सुनिश्चित गर्न आवश्यक रहेको धारणा राखे ।
आन्तरिक राजस्व परिचालन, नवीन वित्तीय उपकरणको उपयोग एवं परिचालन, सार्वजनिक ऋण व्यवस्थापन, साझेदारी निर्माण र दिगो विकास लक्ष्यका लागि वित्तीय स्रोतको व्यवस्थापनलगायतका विषयमा परामर्श बैठक फलदायी भएको अर्थमन्त्रीको ठहर छ ।
परामर्श बैठकमा उनले विभिन्न देशका मन्त्री, राजनीतिक नेता, विज्ञ, विकास साझेदार लगायतबाट प्राप्त सुझावले सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा पेस गरिने दस्तावेजलाई समृद्ध पार्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।