स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका-७ बाट यो वर्ष ११ करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । भिरकोट-७ का अध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले वडामा यो वर्ष सुन्तला बिक्रीबाट ११ करोडभन्दा बढी पैसा भित्रिएको बताएका हुन् ।
वडाका बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छन् । यहाँका करिब एक सय घरपरिवारले व्यावसायिक सुन्तला उत्पादन गर्दै आएको वडा कार्यालयले जनाएको छ ।
‘वडाका अधिकांश किसान व्यावसायिक सुन्तलाखेतीमा आबद्ध हुनुहुन्छ,’ अध्यक्ष अर्यालले भने, ‘यहाँका किसानले यो वर्ष थोरैमा ५० हजार र धेरैमा ३० लाखसम्म आम्दानी गरेका छन् ।’
तिहारका बेलादेखि सुन्तला बजार पठाउन सुरु गरेर माघको दोस्रो सातासम्म सबै बिक्री गरिसक्ने अध्यक्ष अर्यालले जानकारी दिए । सुरुमा प्रतिकिलो ४० रुपैयाँमा बिक्री गरेको सुन्तला अन्तिममा आइपुग्दा प्रतिकिलो ७० रुपैयाँका दरले बिक्री भएको छ ।
स्थानीय व्यापारी तथा काठमाडौँबाट आएका व्यापारीले बगैँचा नै ठेक्का लिएर बिक्री गर्ने गरेका छन् । कतिपय किसानले चिनजान र फोन सम्पर्कका आधारमा गाडीबाट व्यापारीकहाँ पठाइदिने गरेका छन् ।
‘गत वर्ष यो वडामा सुन्तला बिक्रीबाट करिब १५ करोड रुपैयाँ भित्रिएको थियो,’ उनले भने, ‘गत वर्षजस्तो यस वर्ष उत्पादन भएन, यसकारण आम्दानी पनि घट्न पुग्यो ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र भिरकोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बिरुवा, सिँचाइ ट्याङ्की, पाइप वितरण गरिएको अध्यक्ष अर्यालले बताए । नयाँ बिरुवा हुर्कँदै गरेकाले आगामी वर्ष सुन्तला आम्दानी बढ्ने दाबी उनको छ ।
राम्रो आम्दानी लिन सकिने भएपछि यहाँका स्थानीय सुन्तलाखेतीतर्फ आकर्षित हुँदै गएका छन् । गत वर्ष स्याङ्जामा सुन्तला बिक्रीबाट १ अर्ब २५ करोड भित्रिएको थियो भने यस वर्ष उत्पादन कम भएसँगै आम्दानी पनि केही घट्ने अनुमान कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको छ ।