• Menu

बढ्न सकेन आयात, निर्यात पनि खुम्चियो

नेपाल प्रफिट

२०८० माघ २, १७:४२

बढ्न सकेन आयात, निर्यात पनि खुम्चियो

काठमाडौं । बजारमा माग बढ्न नसक्दा आयात पनि घटेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा आयात ३.३९ प्रतिशतले घटेको हो ।

गत वर्षको मंसिरसम्ममा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँबराबरको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमा ६ खर्ब ४२ खर्ब २० करोड रुपैयाँबराबरको मात्र आयात भएको भन्सार विभागले जनाएको छ ।

समीक्षा अवधिमा निर्यात पनि खुम्चिएको छ । गत वर्ष मंसिरसम्ममा ६७ अर्ब ३० करोड रुपैयाँबराबरको निर्यात भएकोमा चालु आवको मंसिरसम्ममा ६३ अर्ब २० करोड रुपैयाँबराबरको मात्र निर्यात भएको हो । निर्यात व्यापार ६.०९ प्रतिशतले घटेको छ ।

व्यापार घाटा पनि ३.०९ प्रतिशतले कम भएको छ । गत वर्षको साउनदेखि मंसिरसम्ममा ५ खर्ब ९७ अर्ब व्यापार घाटा भएकोमा चालु आवको सोही अवधिमा ५ खर्ब ७९ अर्ब व्यापार घाटा भएको छ ।

यो अवधिमा समग्र वैदेशिक व्यापार ३.६४ प्रतिशतले घटेको छ । विभागका अनुसार गत वर्षको पहिलो पाँच महिनामा ७ खर्ब ३२ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा ७ खर्ब ५ अर्बको वैदेशिक व्यापार भएको छ ।

 

एक खर्बको पेट्रोलियम पदार्थ आयात

पाँच महिनामा १ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । समीक्षा अवधिमा ५३ अर्ब ९० करोड रुपैयाँबराबरको ४ लाख ८९ हजार ९३६ किलोलिटर डिजेल र २८ अर्ब ५५ करोड रुपैयाँबराबरको २ लाख ८१ हजार ९७० किलोलिटर पेट्रोल आयात भएको छ ।

त्यस्तै २० अर्ब ६५ करोड रुपैयाँबराबरको २१ करोड ४२ लाख किलो खाना पकाउने ग्यास आयात भएको छ । समग्र आयात व्यापारमा पेट्रोलियम पदार्थको हिस्सा १६ प्रतिशतभन्दा बढी देखिएको छ ।

निर्याततर्फ भने सबैभन्दा धेरै ३ अर्ब ९ करोड रुपैयाँबराबरको २३ लाख ७४ हजार ११० किलो अलैंची बाहिरिएको भन्सार विभागले जनाएको छ ।