काठमाडौँ । यस वर्षको तिहारमा ५० करोड रुपैयाँबराबरको फूलको कारोबार भएको छ । सबैभन्दा धेरै फूल काठमाडौँ उपत्यकामा खपत भएको छ ।
फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको एक सय तिर्नुपरेको छ ।
काठमाडौँ महानगरपालिकाले फूल बिक्री स्थल तोकेका कारण सहज भएको उनले बताए । यस वर्ष महानगरले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो ।
बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए ।
काठमाडौँ उपत्यकाका तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएको छ । व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको उनले जानकारी दिए ।
पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् भने २२१ हेक्टरमा एक हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन्