बागलुङ । ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले ६ वर्षदेखि कालिजपालन गरिरहेका छन् ।
पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् । उनी कार्यालयबाहेकको समय कालिज फार्ममा खटिन्छन् । कँडेलले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज लिएर पाल्न सुरु गरेका थिए । २४ हजारमा ४ कालिज ल्याएर सुरु गरेको व्यवसायमा कँडेलले हालसम्म २५ लाख बढी लगानी गरिसकेका छन् ।
कालिज व्यवसाय फस्टाउँदै गएपछि उनले हाल चल्ला पनि उत्पादन गरिरेका छन्ह । रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि उनी दंग छन् । कँडेलले ६ वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर कालिजपालन थालेका हुन् । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत चल्ला उत्पादन गरिरहेको उनी बताउँछन् ।
चल्ला उत्पादन बढ्दै जाँदा बजार पाउन भने मुस्किल पर्न थालेको उनले सुनाए ।
‘केही वर्ष अघि एउटा कालिज फार्म हेर्ने अवसर मिल्यो, त्यसपछि काभ्रेबाट चार वटा कालिज ल्याएर पाल्न थालेँ, त्यतिबेला मैले व्यवसाय गरुँला भन्ने सोचेको थिइँन,’ उनले भने, ‘पछि ती चल्ला हुर्केर दुई सय अण्डा दिए, त्यसपछि यही व्यवसाय गर्नुपर्छ कि भन्ने सोच आयो । रहरैरहरमा थालेको कालिजपालन अहिले व्यवसायमा रुपान्तरण भयो ।’
कोभिड-१९को महामारीका बेला एकै पटक पाँच सय वटा कालिज मरेपछि लाखौँको नोक्सानी व्यहोर्नु पर्यो । फार्म रित्तो भएपछि पुनः चल्ला ल्याउनुपरेको उनले बताए । कँडेलले उत्पादन गरेको कालिज बुर्तिबाङ, बागलुङसहित काठमाडौँसम्म पुग्ने गरेका छन् ।
भाले कालिजलाई दुई हजार ५ सय र पोथी कालिजलाई एक हजार ५ सयमा बिक्री गर्दै आएको उनी बताउँछन् । दसैँमा ३ सय वटा कालिज बिक्री भयो । हाल फार्ममा ७ सय कालिज छन् । वार्षिक १२ लाखको कालिज बिक्री हुने उनले जानकारी दिए ।
एउटा कालिज बिक्रीका लागि तयार हुन करिब सात महिना लाग्छ । उत्पादन अनुसार बजार पाउन सकेमा अझै धेरै आम्दानी लिन सकिने उनको भनाइ छ ।