सुनसरी । तराई मधेस क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरीचेलीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो ।
तर, सुनसरीका मरिक समुदायले भने छोरीचेलीको विवाह गर्दा दाइजोमा गाउँ नै दिने गरेका छन् । सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाइजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर-२ का अगुवा भट्टाई मरिकले बताए ।
मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्वाइँ गाउँमा नै बसोबासका लागि राजी भए दाइजो स्वरुप गाउँ नै दिने गरेको भट्टाईले सुनाए । हरिनगर-३ का चन्दन मरिकले पनि दाइजोमा गाउँ नै दिने प्रथा सत्य रहेको बताए । ̍ज्वाइँ राजी भए गाउँ नै दाइजोमा दिने चलन छ । यसको उद्देश्य छोरीचेली र भोलि जन्मिने सन्ततिलाई सहज होस् भन्ने हो,̍ उनले भने । गाउँ दाइजो भन्नुको अर्थ आफ्ना उत्पादनका लागि सो गाउँमा अधिकार प्राप्त हुनु हो ।
दाइजोमा गाउँ पाएपछि सो क्षेत्रमा आफ्ना उत्पादन बेच्ने अधिकार छोरी ज्वाइँले पाउँछन् । मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेबारीमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पुर्याउने, चाडबाडका बेलामा बाँसका सामग्री बनाएर बिक्री गर्ने हो ।
चाडपर्व, व्रतबन्धलगायत अवसरमा बाँसका सामग्री प्रयोग अनिर्वाय भएकाले एक जनाको गाउँमा अर्को मरिक समुदायका व्यक्तिले सामान बिक्री गर्न नपाउने आन्तरिक सहमति उनीहरुबीच हुन्छ । विशेष गरेर ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिले तोकिएका व्यक्तिबाटै विभिन्न सामग्री लिने गर्छन् । यजमानले लिएको सामग्रीबापत मरिक समुदायका व्यक्तिले चामल, धान, गहुँ, नगद र बाँस लिन्छन् ।
विभिन्न किसिमका सामग्री बिक्रीका लागि बजारमा जानुपर्ने वा गाउँघरमै पसल गरेर बिक्री गर्नुपर्ने बाध्यता भए पनि मरिक समुदायका व्यक्तिले आफूले बनाएको सामग्री बिक्री गर्नका लागि गाउँ नै बाँडफाँट गरेका हुन्छन् ।
कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ । एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा समाजले जरिवानासमेत गर्ने गरिएको छ । आफ्नो क्षेत्र बेच्न चाहनेले कारोबारअनुसारको रकम लिई बेच्नसमेत सक्ने चलन छ ।
एउटा गाउँ बेच्दा उनीहरु तीनदेखि चार लाख वा सामाजिक मूल्यांकनअनुसार रकम लिने दिने गर्छन् । सोही गाउँ मरिक समुदायका व्यक्तिले छोरी-ज्वाइँलाई गाउँमै बस्ने सर्तमा दाइजो स्वरुप दिने गरेका हुन् । हरिनगर-२ का वीरेन्द्र मरिकका अनुसार दाइजोमा पाएको गाउँमा उनीहरूले कारोबार गर्ने अनुमति पाउँछन् र मरिक समाजले त्यसलाई स्वीकार गर्ने चलन छ ।