• Menu

छठका लागि जनकपुरमा मात्रै पाँच करोडको केरा आयात

नेपाल प्रफिट

२०८१ कात्तिक १९, ०८:१३

छठका लागि जनकपुरमा मात्रै पाँच करोडको केरा आयात

धनुषा । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ ।

जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।

गत वर्ष चार करोड रुपैयाँभन्दा बढीको केरा भित्रिएकोमा यो वर्ष पाँच करोडबराबरको ८५ ट्रक केरा भित्रिएको जानकारी उनले दिए ।

जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट आएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगन्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले बताए ।

छठ पर्वसँगै गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशतले केराको मूल्य बढेको छ । ̍छठ पर्व मनाउनेको संख्या वृद्धि भएकाले केराको माग पनि बढेको हो,̍ उनले भने, ̍त्यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यो वर्ष २५–३० ट्रक बढी केरा मगाइएको छ ।̍

फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । एक ट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजारसम्म मूल्यमा बिक्री गरिन्छ ।

नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको व्यवसायीको भनाइ छ । साथै, देशभित्र उत्पादन हुने केराभन्दा भारतबाट आउने केरा सस्तो पर्ने गरेकाले सीमावर्ती क्षेत्रमा भारतबाट आयात गर्ने गरिएको व्यापारी बताउँछन् ।