म्याग्दी । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङ्ग्रा बिक्री भएका छन् । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा कात्तिक लागेपछि चार हजार ४० भेडाच्याङ्ग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार यसपालीको दसैँ पर्वका लागि आठ हजार भेडाच्याङ्ग्रा बिक्री भएको थियो । पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडाच्याङ्ग्रा मात्र बजार पठाउने गरिएको छ ।
दसैँ र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्याङ्ग्रा बजारमा बिक्री भएको हो ।
̔उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालीको दसैँ तिहारमा भेडाच्याङ्ग्राको व्यापार बढी भएको छ,̓ केन्द्र प्रमुख अर्यालले भने, ̔कृषकले तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ३७ हजारका दरले च्याङ्ग्रा बिक्री गरेका छन् ।̓
जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । तीन वर्ष पूरा भएको च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ । गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका व्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा किसानबाट खरिद गरेका छन् ।
गत वर्ष काठमाडौँ र पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपालि ४५ हजारभन्दा कम रह्यो । गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगो हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए ।