• Menu

इच्छाकामनाले २० लाख लागतमा निर्माण गर्‍यो चिस्यान केन्द्र

नेपाल प्रफिट

२०८१ कात्तिक १६, शुक्रबार १३:२२

इच्छाकामनाले २० लाख लागतमा निर्माण गर्‍यो चिस्यान केन्द्र

चितवन  । इच्छाकामना गाउँपालिकाले  २० लाख लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपजलाई भण्डारण गर्न लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको कृषि भवनमा गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेको हो ।

चिस्यान केन्द्र अभावमा किसानले सस्तोमा सागसब्जी तथा फलफूल बेच्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले केन्द्र निर्माण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । किसानको माग र आवश्यकताका आधारमा भविष्यमा पनि चिस्यान केन्द्र निर्माण गर्ने उनले बताए ।

गुरुङका अनुसार कृषिजन्य उत्पादनको संकलन तथा बिक्रीका लागि कृषि भवन निर्माण गरिएको हो । उक्त भवनमा स्थानीय दुईवटा कृषि सहकारी र कृषि समूहसँग सहकार्य गरेर सागसब्जी बिक्रीको व्यवस्था मिलाइएको छ । सो स्थानमा केन्द्र निर्माण भएको हो ।

निकट भविष्यमा सहकारीमार्फत किसानलार्ई बीउबिजन मल र आवश्यक औजार सुपथ मूल्यमा उपलब्ध गराइने गुरुङले बताए । कृषि भवनमा कोसेलीघर पनि सञ्चालन गरिने भएको छ ।