चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरीको जीवन बिमा कार्यक्रममा ८ सय ९१ जना छोरीको बीमा भएको छ । भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिएको हो ।
स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३ सय ३८, आव २०८०/८१ मा ४ सय १३ र चालु आवको हालसम्म एक सय ४० जना छोरीको बिमा भएको छ ।
महानगरपालिकाले राष्ट्रिय बिमा कम्पनीमा बिमा बापत १५ वर्षसम्ममा ५० हजार बुझाउने गर्दछ । सोपश्चात बिमा कम्पनीले बिमितलाई एक लाख प्रदान गर्ने उनले बताइन् । पौडेलले भनिन्, ‘अहिले हामीले बिमा भइसकेका छोरीहरूका लागि वार्षिक ३ हजार ३ सय २७ नवीकरण शुल्क बुझाउने गरेका छौँ ।’
समाजमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश दिँदै छोरी गर्भमा भएमा गर्भपतनसम्म गराउने परिपाटीको अन्त्य गराउन बिमा कार्यक्रम प्रभावकारी हुने उनले बताइन् । महानगरपालिकाले छोरी लक्षित विभिन्न कार्यक्रम विद्यालयमार्फत पनि सञ्चालन गर्दै आएको छ ।