• Menu

आज धनतेरस : बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गरे शुभ हुने विश्वास

नेपाल प्रफिट

२०८१ कात्तिक १३, ११:३०

आज धनतेरस : बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गरे शुभ हुने विश्वास

काठमाडौं । कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिलाई आज धनत्रयोदशीका रुपमा देशभर मनाइँदै छ । धनतेरस पनि भनिने आजको दिनमा बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने चलन छ ।

आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव पनि आजै मनाइन्छ । ज्योतिषाचार्य लक्ष्मीप्रसाद बरालका अनुसार आजका दिन सुनचाँदीका गरगहना, धातुका भाँडावर्तन, सवारी साधनलगायत किनमेल गरे लक्ष्मीको बास हुने धार्मिक विश्वास छ ।

उनका अनुसार धनतेरसका दिन सुनको विशेष महत्व हुन्छ । ‘सुनलाई समृद्धिको प्रतीक मानिने भएकाले धनतेरसका अवसरमा सुन किन्ने परम्परा चलेको हो,’ उनले भने ।

सुन किन्न नसक्नेले आज चाँदी अथवा चाँदीका भाँडावर्तन किन्ने गर्छन् । ‘त्यो पनि किन्न नसक्नेहरुले तामा र पित्तलका भाँडा वा पूजाका थाली किनमेल गर्ने चलन छ,’ पण्डित वामनकुमार चालिसेले भने, ‘खासमा धनतेरसका दिन किनिएको वस्तु टिकाउ, नाफादायक र शुभ हुने धार्मिक मान्यता छ ।’

त्यसैले तिहार सुरु हुनुभन्दा एक दिन अघि पर्ने धनतेरसका दिन मानिस गच्छेअनुसार केही न केही किन्ने गर्छन् । त्यसैले पनि आज बजारमा भीड लाग्ने गर्छ । नयाँ किनिएका धातुका सामान राखेर आजै साँझदेखि झिलीमिली बत्ती बालेर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने चलन छ ।

यमपञ्चकको पहिलो दिन भोलि बुधबार कागतिहार मनाइन्छ । कुकुर तिहार र लक्ष्मीपूजा भने एकै दिन बिहीबार परेको छ । शुक्रबार गाईतिहार, शनिबार गोबर्धन पूरा, म्ह: पूजा र आइतबार कात्तिक १८ गते भाइटीका मनाइन्छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्नेछ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसैदिन गपरेको छ ।