• Menu

ड्रागनखेतीमा जमेका लाहुरे

नेपाल प्रफिट

२०८१ कात्तिक १२, १५:४१

ड्रागनखेतीमा जमेका लाहुरे

सुनसरी । अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन ।

एक्काइस वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उनले सोच्नु पनि भएको थिएन । ड्रागन फलको त्यही बिरुवाबाट अहिले उनी यसको व्यावसायिकखेतीमा क्रियाशील छन् । सुरुमा त उनलाई थाहा थिएन, यो फल यत्ति महंगो र स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर ।

अन्य फलको तुलनामा यसको मूल्य निकै रहेकाले उनी यसतर्फ आकर्षित बनेका हुन् । व्यवसाय सुरु गर्दा स्थानीय बजारहरुमा पनि प्रतिकेजी एक हजार दुई सयमा बिक्री वितरण हुने थाहा पाएपछि उनी निकै हौसिएका थिए ।

अहिले उनलाई आफूले उत्पादन गरेको ड्रागन फलको बजारीकरणमा कुनै समस्या छैन । भाटभटेनी सुपरमार्केसँग समन्वय गरी बिक्री गर्ने गरेको छ ।

किनेको एक बिघा जग्गा त्यत्तिकै उपयोगविहीन नै थियो । त्यही जग्गामा दुई सयवटा ड्रागनको बिरुवा लगाएर खेती सुरु गर्ने निधो गरे । सुरुमा त उनलाई धेरैले गलत निर्णय गरेको भन्दै आलोचना पनि नगरेका होइनन् तर उनी आफ्नो योजनामा प्रस्ट थिए । त्यतिबेला पूर्वमा ड्रागनखेती गर्नेको संख्या थोरै मात्र थियो । कोहीकोहीले घरको छत र बारीमा दुई-चार बोट मात्रै लगाएका थिए ।

अन्य फलफूल वर्षमा एकपटक मात्र उत्पादन गर्न सकिन्छ भने ड्रागन फल वर्षमा १० पटकसम्म फलाउन सकिन्छ । उनले भने, ‘राम्रो उत्पादनसँगै आम्दानी पनि राम्रो हुने गरेको छ ।

अहिले वार्षिक ५० लाख सजिलैले आम्दानी हुने गरेको छ भने खेतीमा मल, कर्मचारी खर्च सबैगरी वार्षिक १२ लाख जति खर्च हुने गरेको छ।’

फलसँगै बिरुवा बिक्री गरेर पनि राम्रो आम्दानी हुने गरेको उनले बताए । बिरुवा मात्र बेचेर उनले वर्षमा दुई लाख बढीको आम्दानी गर्दै आएको छ ।

पूर्वमा ड्रागनखेती गर्ने ८० प्रतिशतभन्दा बढी किसानले यहीँबाट बिरुवा खरिद गरेर लाने गरेको उनको भनाइ छ । कुनै समय भने बिरुवाको माग अत्यधिक भएकाले बिक्रीका लागि बिरुवा माग पूरा गर्न नसक्ने अवस्था हुने गरेको उनले सुनाए ।

सुरुआती समयमा त उनले फलबाट भन्दा धेरै बिरुवा बिक्री गरेर आम्दानी गरेको थियो । उनले भने, ‘पहिले बिरुवा एक बोटको दुई सयदेखि चार सयसम्म बिक्री गर्ने गरेकामा अहिले भने प्रतिबिरुवा ५० मा बिक्री हुने गरेको छ ।’

फल भने खुद्रामा अहिले चार सयमा बिक्री गर्दै आएको छ भने थोकमा तीन सय ५० मा बिक्री हुने गरेको उनले बताए । व्यावसायिक रुपमा ड्रागनखेती गर्न थालेपछि उनले तर्जुमा ड्राइगन फ्रुट कृषि फार्म नै दर्ता गरेको छन् । उनको फार्ममा प्रत्यक्ष अप्रत्यक्ष धेरैले रोजगारी पनि पाएका छन् ।

उनको देखासिकी गरी अहिले धेरै युवाले ड्रागनखेती गर्न थालेका छन् । सुनसरीको तरहरामा जन्मिएका भारतीय पूर्वलाहुरे कृष्णकुमार घले १७ वर्ष भारतीय सेनामा बिताएपछि २०७४ सालमा निवृत्त भई नेपाल फर्किएको थियो ।

उनले नेपाल फर्केपछि बाँकी समय किन त्यत्तिकै खेर फाल्ने भन्ने सोचले व्यवसाय गर्ने निधो गरे । सुरुमा उनले सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा कागतीखेती सुरु गरे, दुई वर्षजति कागतीखेतीमै बित्यो ।

पछि कागतीखेतीबाट भने जस्तो राम्रो आम्दानी हुन नसकेपछि पूरै एक विघा जग्गामा सुरु गरेको कागतीखेती सबै डोजर लगाएर सबै हटाए ।

उनले भने, ‘कागतीखेतीबाट त्यति नराम्रो नै चाहीँ भएको हैन तर जति आम्दानी हुन्छ भनेर सुरु गरेको कागतीखेती त्यति आम्दानी नभएपछि नजिकै रहेको आफ्नै काका कृपाश्वर घलेको ड्रागन खेती देखेर त्यहीँबाट प्रेरित भएर ड्रागनखेती सुरु गरेको छु ।’

उनले २०७५ फागुनमा तमु कृष्ण बहुद्देश्यीय कृषि फार्म दर्ता गरेर एक बिघाको पूरै जमिनमा ड्रागनखेती सुरु गरेको बताए ।

कागतीखेतीको तुलनामा अहिले ड्रागनखेतीबाट राम्रो आम्दानी भइरहेको छ । वार्षिक ४० लाख बढी आम्दानी हुन्छ भने १० लाख जति खेतीमा मल, काम गर्ने कर्मचारीलाई तलब सबै खाना पानी गरेर वार्षिक खर्च हुने गरेको उनले बताए ।

ड्रागनखेती सुरु गरेपछि आर्थिक रुपमा सबै व्यवस्थित हुँदै गयो, जब ड्रागनखेती सुरु गरे आफैँलाई पनि राम्रो भएको छ भने ड्रागन व्यापार गर्ने किसान र व्यापारीका लागि पनि एउटा आकर्षक कृषि फार्मको केन्द्रका रुपमा विस्थापित भएको उनले बताए ।

उत्पादन भएको फल बिक्रीका लागि समस्या छैन, पूर्वी पहाडी भेगका व्यापारीहरु ड्रागन खरिद गर्नका लागि फार्ममा पुग्ने गरेका छन भने स्थानीय बजारका व्यापारीहरु पनि खरिदका लागि फार्ममै पुग्ने गरेको उनले बताए ।

बिक्रीका लागि धेरैजसो इटहरी, धरान, विराटनगरमा मात्र नभई काठमाडौँ, पोखरासम्म बिक्रीका लागि पठाउने गरेको सुनाए । यो फलफूल फुल्न सुरु गरेको ४५ दिनमा फल पाक्ने हुँदा वार्षिक रुपमा सजिलैसँग १६ देखि २० मेट्रिक टनसम्म उत्पादन हुने गरेको उनले जनाए ।

अहिले सुनसरीको रामधुनी नगरपालिका–७ मा मात्र १० घरधुरीभन्दा बढीले ड्रागनखेती गर्दै आएका छन् । विदेशबाट फर्केका युवाहरु ड्रागनखेतीतर्फ आकर्षित भएका छन् ।

कतिपय विदेश पलायन हुन लागेका युवाहरुले पनि आफ्नै देशमा व्यवसाय गरे आम्दानी गर्न सकिने रहेछ भन्ने प्रेरणा उनीबाट लिएका छन् ।