चितवन । चितवनमा लगाइएको बर्खे धानको उत्पादन-उत्पादकत्व अनुमान तथा तथ्यांक लिन क्रप कटिङ बाली कटानी सुरु गरिएको छ ।
कृषि विकास कार्यालय चितवनले विभिन्न स्थानमा लगाइएको धानको उत्पादन अनुमान गर्न क्रप कटिङ सुरु गरेको हो । पूर्वी चितवनमा क्रप कटिङको काम सकिएको र पश्चिम चितवनको भरतपुर तथा माडीमा एक, दुई दिनमा सकिने कार्यालय प्रमुख झलकनाथ कँडेलले जानकारी दिए ।
धानको प्रत्येक १० वर्गमिटर क्षेत्रफलमा क्रप कटिङ गरी उत्पादन अनुमान गरिने उनले बताए । कँडेलले भने, ‘यसवर्ष हामीले समग्र जिल्लामा गत वर्षको भन्दा बढी धान उत्पादन हुने अनुमान गरेका छौँ तर धान लगाउने समयमा मौसम अनुकूल भए पनि पाक्ने बेलामा केही समय मौसम प्रतिकुल र धानमा डटी प्यानिकललगायत रोगका कारण केही समस्या नभएको छ ।’
उनले अनुमानभन्दा केही उत्पादन घटे पनि धेरै घाटा भने नहुने अपेक्षा रहेको बताए । ‘प्रतिहेक्टर चार मेट्रिक टन अलि पुगेको छैन तर औसतमा प्रतिहेक्टर ४ मेट्रिक टनकै हाराहीमा उत्पादन अनुमान गर्न सकिन्छ,’ कार्यालय प्रमुख कँडेलले भने, ‘पूर्वी चितवनमा केही उत्पादन घटेको हामीले पाएका छौँ । सबै स्थानमा क्रप कटिङ गरी तथ्यांक लिएपछि उत्पादनबारे थाहा हुनेछ ।’
कार्यालयका अनुसार जिल्लामा यसवर्ष २२ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको छ । यहाँ सावित्री, सावा मन्सुली, चैते ५, हर्दीनाथ ६, बहुगुणी १ र २, मनकामना, गंगोत्री, गंगाकावेरी, जेरी, ओआर, कतर्नी, मुकाबिला, महाराजा, काशिनाथलगायत धान लगाइएको छ ।
गत वर्ष २६ हजार ३ सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन उत्पादन भएको थियो ।