• Menu

विद्युतीकरणपछि म्याग्दीका ६ सय घर झिलिमिली

नेपाल प्रफिट

२०८१ कात्तिक ११, १३:५९

विद्युतीकरणपछि म्याग्दीका ६ सय घर झिलिमिली

म्याग्दी । मालिका गाउँपालिकाको ६ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा विस्तार भएको छ।

नेपाल विद्युत प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो।

मालिका-२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका-३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका-४ ओखरबोटमा एक सय दुई घरमा बिजुली बलेको नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिए।

प्राधिकरणको विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका चारवटा वडामा बत्ती बलेको हो।

म्याग्दीका १४ स्थानका २ हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सुविधा विस्तारका लागि २२ करोड बजेटको योजना सञ्चालन भएको छ ।

घ्याङलेपानी बाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघुजल विद्युत परियोजनाको विद्युत प्रयोग गरेका थिए। वर्षौंको प्रयासपछि बिजुली बलेपछि स्थानीयमा खुसीयाली छाएको मालिका-३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए।

मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने पात्ले, लुप्सीपार, किटेनी, डाडागाउँ, औला, सेउलीबाङ, अदिभारा, इग्रे, खतेन बस्तीका तीन सय २५ घरमा विद्युतीकरण भएको उनले बताए ।

केन्द्रीय लाइनको विद्युत सुविधा भएपछि स्थानीयलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको मालिका-३ पात्लेकी बालकुमारी रोकाले बताए।

विद्युत सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य, एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न २०८० असोजमा रविन्द्र ढुङ्गाना जेभीसँग तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सोही ठेक्कामार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ स्थानमा एक हजार ४ सय ३८ उपभोक्ता थपिएका विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । गत वर्ष थपिएकासहित केन्द्रमा २३ हजार ग्राहक छन्।