पर्सा । वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको छ।
चालु आर्थिक वर्षको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख ५ हजार बराबरका मालसामान आयात भएका छन्।
गत आवको सोही अवधिमा भएको आयातमा ६.४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ। गत आवको सोही अवधिमा एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएका थिए।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो। तीन महिनामा समग्रमा राजस्व संकलन भने बढेको छ।
चालु आवको तीन महिनामा वीरगन्जबाट ७ अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन्।
गत आवको सोही अवधिमा ८ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए।