काठमाडौं । संघीय सरकारले २०७९ सालमा देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगायो । २०७९ साउनमा वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिकका फूलगुच्छामा प्रतिबन्ध लगाएको थियो ।
मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय लिएको जनाएको थियो । राजपत्रमा सूचना प्रकाशित भएपछि प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने कार्य अवैध भयो ।
तर, सोही वर्षको तिहारमा प्लास्टिकबाट बनेका आयातित फूलका मालाले देशका सबै साना-ठूला सहर बजार ढाकिए । वन मन्त्रालयनजिकै रहेको काठमाडौंको असन बजारसमेत झकिझकाउ भयो ।

सरकारको सूचनालाई कसैले वास्ता गरेन । त्यसअघिका वर्षहरुमा जस्तै देशभरका बजार क्षेत्र प्लास्टिकका फूल र मालाले सजिए । प्लास्टिकका फूलगुच्छाको निर्धक्क कारोबार भयो । कानुनअनुसार प्लास्टिकका माला आयात, भण्डारण र किनबेच दण्डनीय हुने भए पनि कोही दण्डका भागिदार बनेनन् । सरकार सूचना निकाल्यो र सुत्यो ।
मन्त्रालयले आयातमा प्रतिबन्ध लगाए पनि भन्सार विभागले राजस्व संकलन गर्दै आयातलाई वैध बनाइरहेको थियो । सरकारका दुई निकायबीच समन्वय थिएन । बजारमा भित्रिएको र निर्वाध भइरहेको कारोबारलाई रोक्न सरकारका कुनै निकायले चासो दिएनन् ।
सोही आर्थिक वर्षको पहिलो तीन महिना अर्थात् २०७९/८० को साउनदेखि असोजसम्ममा एक करोड ३४ लाख ३८ हजार रुपैयाँबराबरको प्लास्टिकका कृत्रिम फूलमाला भित्रियो । आयात र बिक्रीमा प्रतिबन्ध लागेपछि आयात कम भए पनि भन्सारबाट बैध तरिकाले नै प्लास्टिकका फूल र मालाको आयात रोकिएको छैन ।
आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्ममा ७० लाख ६२ हजार रुपैयाँबराबरको प्लास्टिकको फूलगुच्छा आयात भयो । चालु आवको सोही अवधिमा २६ लाख ८९ हजार रुपैयाँबराबरको कृत्रिम फूलमाला आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

स्थानीय सरकार सक्रिय
भन्सारबाट आयात भए पनि यसपटक बिक्री वितरणमा भने सहज नहुने भएको छ । प्रतिबन्ध लागेको प्लास्टिकको फूलगुच्छाको बिक्री वितरण रोक्न स्थानीय सरकारहरुले सक्रियता बढाएका छन् । सबैभन्दा कारोबार हुने संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाले नै प्लास्टिकको फूलगुच्छाको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
महानगरपालिकाले बिहीबार सूचना निकालेर प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको हो । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी महानगरले प्लास्टिकका फूलगुच्छा र माला बिक्री वितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको छ ।
महानगरले प्लास्टिकको फूलगुच्छा र माला बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्री वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
अनुगमनका क्रममा यस्ता सामग्रीको बिक्री वितरण वा प्रयोग भएको पाइए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

त्यस्तै बाँकेको कोहलपुर नगरपालिकाले पनि प्लास्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा रोक लगाएको छ । नगरपालिकाले कात्तिक ६ गते सूचना जारी गरी नगर क्षेत्रमा प्लास्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्न प्लास्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
तिहार, छठलगायतका चाडपर्वमा प्लास्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकूल असर पार्ने भएकाले प्लास्टिकका फूलगुच्छा तथा मालाको प्रयोग नगर्न आग्रह गरिएको छ ।
प्लास्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले स्थानीय किसानबाट उत्पादन भएको फूलले समेत बजार नपाउने तथा रकम बाहिरिनेजस्ता समस्या देखिएको नगरपालिकाको सूचनामा उल्लेख छ ।
नगरपालिकाले स्थानीय किसानले उत्पादन गरेको फूलको प्रयोग गर्न आग्रह गरेको छ । किसानले सयपत्री, गोदावरी, मखमलीलगायत फूल उत्पादन गरेकाले त्यसको प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको हो ।

त्यसैगरी, कैलालीको टीकापुर नगरपालिकाले तिहारका समयमा प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न अनुरोध गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै स्वदेशी फूलका मालालाई प्रोत्साहन गर्न प्लास्टिकजन्य फूलमाला प्रयोग निषेध गरेको जनाएको छ ।
प्लास्टिकका मालाले स्थानीय पुष्प व्यवसायी घाटामा गएको र वातावरणका हिसाबले पनि उपयुक्त नहुने भएकाले प्लास्टिकका माला निषेध गरिएको सूचनामा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले तिहार र छठपर्वमा टीकापुरभित्र कसैले प्लास्टिकजन्य फूलका माला बिक्री वितरण गरेको पाइए कारबाही गर्ने बताएका छन् । नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा रोक लगाएपछि स्थानीय पुष्प व्यवसायी खुसी भएका छन् । कैलालीमा थुप्रै किसान पुष्प व्यवसायमा लागेका छन् ।
गत वर्ष कैलालीका बजार प्लास्टिकका मालाले ढाकेपछि पुष्प व्यवसायीका फूल बारीमै सडेका थिए । कतिपय व्यवसायीले पालिकाले नसघाएको भन्दै बजार क्षेत्रमा फूलका माला छरेका थिए ।
प्युठानको स्वर्गद्वारी नगरपालिका पनि तिहारमा प्राकृतिक फूलका माला प्रयोग गर्न नगरबासीलाई आग्रह गरेको छ । प्लास्टिकका मालालाई विस्तारै विस्थापित गर्दै जाने नीतिअनुसार भाइटीकाको दिन नगरक्षेत्रमै खेती गरिएका प्राकृतिक फूलका माला प्रयोग गर्न पालिकाले कात्तिक ५ मा सार्वजनिक आह्वान गरेको हो ।

विभिन्न चाडपर्व, सेमिनार, गोष्ठी जस्ता कार्यक्रममा प्लास्टिकका मालाको विकल्पमा फूलका माला प्रयोग गर्नका नगरवासीलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले बताएका छन् ।
नगरपालिकाले कृषि विकास शाखाअन्तर्गत चालु आर्थिक वर्षमा विपन्न महिलाका लागि फूलखेती प्रवर्धन कार्यक्रमअन्तर्गत तिहार लक्षित फूलखेती गराएको छ । त्यस्तै अन्य किसान पनि व्यावसायिक फूलखेतीमा छन् ।
धनकुटामा पनि प्लास्टिक तथा कृत्रिम फूल बिक्रीमा बन्देज लगाइएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा मंगलबार भएको सर्वपक्षीय भेलाले उक्त निर्णय गरेको हो । आयातित कृत्रिम फूल निरुत्साहित र स्थानीय फूल कृषकलाई राहत पुर्याउन यो निर्णय गरिएको जनाइएको छ । नगरपालिकाले पनि नगर प्रहरीसमेत परिचालन गरेर कृत्रिम फूल जफत गर्नेछ ।
स्थानीय उत्पादन नबिक्ने तर बाहिरबाट आउने कृत्रिम मालाले बजार ढाक्ने भएपछि किसानको संरक्षणका लागि स्थानीय तहले सक्रियता बढाएका हुन् । काठमाडौं महानगरपालिका एवं स्वर्गद्वारी, टीकापुर, धनकुटा र कोहलपुरबाहेकका अन्य धेरै स्थानीय तहले किसानको हित र प्रवर्धनका लागि कृत्रिम फूल र मालाको प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal