• Menu

रास्वपा सभापति लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

नेपाल प्रफिट

२०८१ कात्तिक ८, १५:४०

रास्वपा सभापति लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
रास्वपा लामिछाने पक्राउको विरोधमा भइरहेको विरोध प्रदर्शनका सहभागी ।

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने थप सात दिन हिरासतमा बस्नुपर्ने भएको छ । कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लीला पछाई‌लाई अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनाको आरोपमा लामिछाने कात्तिक २ गते पक्राउ परेका छन् । अदालतले यसअघि अनुसन्धानका लागि पक्राउ परेकै दिनदेखि ६ दिन अनुसन्धानका लागि म्याद दिएको थियो । अनुसन्धान नसकिएको भन्दै प्रहरीले अनुमति माग गरेपछि अदालतले ७ दिन थप गरेको हो ।

सोही प्रकरणमा प्रकाउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । असोज ६ मा पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् ।

उनीहरुमाथि सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोप छ । सोही आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने, सञ्चालक छविलाल जोशीसहित १८ व्यक्ति र संस्थाविरुद्ध किटानी जाहेरी परेको छ । गोर्खा मिडियाका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् ।