• Menu

क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक

नेपाल प्रफिट

२०८१ कात्तिक ८, १३:४५

क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक
फाइल तस्बिर ।

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गका विभिन्न सडकखण्डको पुनःनिर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको निर्णयको पर्खाइमा बसेको छ । कार्यालयले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आएलगत्तै पुनःनिर्माणको काम थालिने जनाएको छ ।

विपी राजमार्ग धुलिखेल-सिन्धुली-बर्दिबास अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा रहेको छ ।

बाढीपहिरोले अबरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ देखि १० घण्टा रातको समय यातायात सञ्चालमामा रोक लगाएको छ ।

केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गरेका थिए ।

‘जाइकाको ‘रेस्पोन्स’को पर्खाइमा छौँ, एक-दुई दिनमा निर्णय आएपछि निर्माण थालिनेछ,’ कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने, ‘पुनःनिर्माणका ढिला गर्ने पक्षमा छैनौँ, तत्कालै निर्माण थाल्नेगरी सरोकारवाला निकायसँग छलफल पनि सुरु भइसकेको छ ।’

योगेशका अनुसार प्रम ओलीसँग राजमार्ग पुनःनिर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक-दुई दिनमै थप छलफल गर्ने योजना तय गरिएको छ ।

बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय,

राजमार्गअन्तर्गतका स्थानीय तह, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा असोज २५ गतेबाट सञ्चालन गर्न सफल भइएको हो ।

पछिल्लो पटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मंगलटारस्थित बोक्सीकुनामा ‘डाइभर्सन’ बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी सञ्चालनमा ल्याइएको योगेशले बताए ।

उनका अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब २०० मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको थियो ।

बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पुर्‍याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । ‘राजमार्गको सडक, पुल र कल्भर्ट बगेको स्थानमा हाललाई सडक सञ्चालनार्थ अस्थायी संरचना निर्माण गरिएको हो,’

योगेशले भने । उनका अनुसार धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहाबलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ ।

कार्यालयका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकखण्डको १४ स्थानमा करिब ८ किलोमिटर सडक क्षतिग्रस्त गराएको थियो ।

राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पु¥याएको कार्यालयले जनाएको छ ।

जाइकाद्वारा निर्मित उक्त राजमार्ग सडक निर्माण गर्दा प्रति किमी ३५ करोड लागत थियो । उक्त रकम हालको हिसाबमा ५० करोडभन्दा माथि पर्नेछ । क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्यांकन गर्दा दुई अर्बभन्दा माथिको क्षति गराएको प्रारम्भिक अनुमान गरिएको योगेशले बताए ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट विपी राजमार्ग धुलिखेल-सिन्धुली-बर्दिबास एक सय ६० किमी सडक निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ साल असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १.१ बिलियन जापानी येन लागतका उक्त राजमार्ग निर्माण भएको हो ।