• Menu

नेपालगन्जका ग्रामीण बस्तीमा कालोपत्र भएपछि यातायात सञ्चालनमा सहज

नेपाल प्रफिट

२०८१ कात्तिक ६, १४:२८

नेपालगन्जका ग्रामीण बस्तीमा कालोपत्र भएपछि यातायात सञ्चालनमा सहज

नेपालगन्ज । जानकी र खजुरा गाउँपालिकाका ग्रामीण सडक कालोपत्रे भएका छन् । कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्तीमा यातायात सञ्चालन गर्न सहज भएको छ । जानकी गाउँपालिका-२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत र खजुरा गाउँपालिका-१ जलपोखरी, सैनिकलगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र गरिएका छन् ।

ग्रामीण बस्ती कालोपत्र भएपछि नेपालगन्ज बजारसँग प्रत्यक्ष जोडिँदा स्थानीय सडक सुविधाबाट लाभान्वित भएको जानकी गाउँपालिका-२ का वडासदस्य अमरबहादुर थापाले बताए ।

‘सडक कालोपत्र नहुँदा धेरै दुःख थियो अहिले सबैलाई आवतजावत गर्न सजिलो भएको छ,’ उनले भने । थापाले सडकका कारण स्थानीय बजारको समेत प्रवर्धन भएको बताए । बेलभारदेखि शिवपुरीसम्म तीन किलोमिटर दुरी छ भने शिवपुरीदेखि नेपालगन्ज पुग्न करिब १० किलोमिटर छ ।

जानकी गाउँपालिकाका सब इन्जिनियर विवेक श्रेष्ठले सडक पूर्वाधार कार्यालय र स्थानीय सरकारको साझेदारीमा सडक कालोपत्र भएको जानकारी दिँदै वर्षामा यात्रुले भोग्ने सास्तीको अन्त्य भएको बताए ।

खजुरा गाउँपालिका-२ का वडाध्यक्ष धनराम ओली क्षेत्रीले गाउँपालिका-१, २ र ३ का ग्रामीण भेगमा ५७ किलोमिटर सडक निर्माण भएको बताए ।