चितवन । जिल्लामा रहेका एचआइभी संक्रमितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ । यस वर्ष गरिएको एचआइभी संक्रमित भएकाहरुको परीक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो ।
एड्स हेल्थ फाउन्डेसन बागमती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्षको जनवरीयता पाँच सय ४४ जना संक्रमितको परीक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको संक्रमण देखिएको हो ।
उनले भने, ‘अहिलेको समस्या भनेको एचआइभी संक्रमिततमा भिरिङ्गी र क्षयरोगको समस्या बढ्दो क्रममा छ ।’ असुरक्षित यौन सम्पर्कका कारण संक्रमितहरुमा भिरिङ्गी रोगको संक्रमणसमेत देखिएको हो । संक्रमित सबैले रोग नियन्त्रणका लागि औषधि सेवन गरिरहेका छन् ।
सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १५ जनामा एचआइभी एड्ससँगै क्षयरोगसमेत देखिएको थियो । उनीहरुलाई अहिले नियमित औषधि सेवन गराइएको उनले जानकारी दिए । क्षयरोग देखिनुमा मुख्य समस्या संक्रमितहरुले मादक पदार्थ र धुम्रपानको सेवन अत्यधिक गर्नु रहेको छ । क्षयरोग पुष्टि भएका बाहेक अन्यलाई समेत औषधिको प्रयोग गरिँदै आइएको उनले बताए ।
फाउन्डेसनको सहयोगमा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेट्र्रो भाइरल थेरापी क्लिनिकका संयोजकसमेत रहेका सापकोटाका अनुसार जिल्लामा हाल एक हजार २ सय १३ संक्रमितले एन्टी रेट्रो भाइरल औषधि सेवन गर्दै आएका छन् । उनीहरुमध्ये ५ सय ९२ पुरुष, पाँच सय ६८ महिला, ३३ बालबालिका र २० जना तेस्रोलिङ्गी रहेका छन् ।
सन् २०२४ मा जिल्लाका विभिन्न स्थानमा गरिएको एचआइभी परीक्षणमा ७५ जना नयाँ संक्रमित भेटिएको सापकोटाले बताए । उनले भने, ‘सन् २०२४ यता तीन सय ९६ जनाको परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।’
यस वर्ष जिल्लामा नयाँ भेटिएका र बाहिरबाट स्थानान्तरण भएर आएका गरी एक सय ५१ नयाँ संक्रमितले औषधि सुरु गरेका छन् । यहाँ नियमित औषधि सेवन गर्नेमध्ये ३० जना स्थानान्तरण भएर गएको उनले बताए । १२ जना संक्रमितले नियमित औषधि सेवन गर्न छाडेको सापकोटाले जानकारी दिए ।