• Menu

प्रचण्डको आरोप : प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्

नेपाल प्रफिट

२०८१ कात्तिक ५, १४:२४

प्रचण्डको आरोप : प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्
फाइल तस्बिर

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् ।

प्रेस सेन्टर जुम्लाले सिंजा कनकासुन्दरीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताए ।

‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दै छ, तपाईंहरुले सबै देखिरहनुभएको छ,’ अध्यक्ष प्रचण्डले भने ।

ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिएका व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा लिनु यसैको उदाहरण भएको उनले प्रस्टोक्ति छ । ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबर्जस्ती व्यक्तिका नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिरहेको छ, तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैंले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्,’ उनले भने ।

सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको प्रचण्डले बताए । अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने जानकारी पनि उनले दिए ।

‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौं,’ उनले भने, ‘आज मात्रै हामी विपक्षी दलहरुका तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउँदै छौँ र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रिय रुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदमी लिइरहेको बेला संसदका पहिलो र दोस्रो दलले अस्वाभाविक र अप्राकृतिक रुपमा हटाएको बताए ।

‘देशमा महत्वपूर्ण उपलब्धि भइरहेका बेला हामीले भ्रष्टाचारीलाई कारबाही बढाउँदै लगेको देखेपछि खासगरी नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरेपछि बूढानीलकण्ठ र बालकोटमा निकै ठूलो भूकम्प गयो र रातारात अस्वाभाविक रुपमा सरकार बनाइयो,’ उनले भने ।

प्रचण्डले आफूले सरकारको नेतृत्व गरेका बेला देशभित्र जनताको आशा जगाउँदै विश्व समुदायमाझ पनि नेपालको प्रतिष्ठा प्रवर्धनलाई अघि बढाएको तर्क गरे । ‘दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरु भएका थिए,’ उनले भने, ‘संयुक्त राष्ट्रसंघको महासभा, विश्व खाद्य सम्मेलन, कोप २८ सम्ममा लिएको हस्तक्षेपपूर्ण पहलकदमीले विश्वको ध्यान नेपालतर्फ आकर्षित भएको थियो ।’

महासभाका क्रममा संयुक्त राष्ट्रसंघका महासचिवलाई निम्तो दिएर विभिन्न युद्धको जटिल अवस्थामा समेत महासचिव नेपाल आउनु महत्वपूर्ण उपलब्धि भएको उनले उल्लेख गरे । ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट उहाँ र मैले विश्व शान्तिका लागि अपिल गरेका थियौं,’ प्रचण्डले भने, ‘यी सबै पहलकदमीले विश्वको ध्यान नेपालमा तानिएको थियो भने नेपालको पक्षमा अन्तर्राष्ट्रिय जनमत राम्रो बनेको थियो ।’

पत्रकार सम्मेलनमा उनले अध्यक्ष प्रचण्डले सिंजा सभ्यता र प्रतिष्ठानका लागि चाँडै ऐन बन्ने पनि जानकारी गराए । आफू पछिल्लोपटक प्रधानमन्त्री भएका बेला सिंजा सभ्यता र प्रतिष्ठानसम्बन्धी विधेयक अघि बढाएको उनले बताएका छन् ।

‘मलाई गर्व छ, मैले क्याबिनेटबाट सैद्धान्तिक सहमति पूरा गरेर त्यो विधेयक अघि बढाउने प्रक्रिया सुरु गरिसकेको थिएँ, अब त्यो विधेयक मन्त्रिपरिषदबाट पारित हुने प्रक्रियामा छ । मलाई विश्वास छ, त्यो चाँडै टुंगोमा पुग्नेछ,’ उनले भने । सिंजा सभ्यता नेपालकै गौरवशाली विरासतको रुपमा रहेको प्रचण्डले बताए ।