• Menu

चितवन कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

नेपाल प्रफिट

२०८१ कात्तिक ५, १४:१५

चितवन कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

चितवन । चितवन कारागारमा रहेका कैदीबन्दीमध्ये १६ जनालाई स्थानान्तरण गरिएको छ । कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो ।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुंगानाका अनुसार स्थानान्तरण गरिएकामध्ये ८ जनालाई रसुवा, ७ जनालाई काठमाडौँ र एक जनालाई तनहुँ स्थानान्तरण गरिएको छ । उनीहरुमध्ये ६ जनाको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ तथा अन्यलाई उनीहरुको इच्छाअनुसार स्थानान्तरण गरिएको उनले बताए ।

यहाँ संघीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य साना अस्पतालमा विशेषज्ञ सेवासहितको सुविधा पाउने भएकाले जिल्लास्थित कारागारमा अन्य जिल्लाबाट कैदीबन्दी यहाँ ल्याउँदा चाप बढेको हो । २ सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले ७ सय ८४ कैदीबन्दी रहेका छन् । यस्तै २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४५, उनीहरुसँग आश्रित ३ बालबालिका र २ सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा ७ सय ३३ जना रहेका छन् ।

‘नवलपरासी बर्दघाट-सुस्ता पूर्वमा कारागार नहुँदा त्यहाँबाट समेत कैदीबन्दी यहाँ ल्याइने हुँदा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता छ,’ ढुंगानाले भने ।